Aamsanchar

नेपाल प्रजातान्त्रिक पार्टीको भेला

Author Image
मङ्गलवार, साउन ८, २०७५

बिर्तामोड।

नेपाल प्रजातान्त्रिक पार्टी झापा जिल्ला तदर्थ समितिको संयोजकमा कृष्णप्रसाद चुडाल चयन भएका छन् ।

पार्टीको बिर्तामोडमा भएको प्रथम जिल्ला भेलाले चुडालको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य तदर्थ समिति चयन गरेको हो ।

नेपाल प्रजातान्त्रिक पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद चुडालको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँ क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिको सहसंयोजकमा राधा अधिकारी चयन भएकी छिन् । त्यस्तै समितिका सदस्यहरुमा महेन्द्र भट्टराई, दुर्गा सुवेदी, गणेश खतिवडा, छवि राजवंशी, दाताराम तिम्सिना, राजकुमार काफ्ले, कृष्णप्रसाद थपलिया, पदम गहतराज लगायत रहेका छन् । समितिका अन्य सदस्य आगामी बैठकले चयन गर्ने बताइएको छ ।

त्यस्तै पार्टीको सल्लाहकारमा विश्व हिन्दू महासंघ झापाका अध्यक्ष मोहन उप्रेतीलाई चयन गरिएको छ । गत २०७४ साल चैत २१ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाले रामचन्द्र बानियाँ क्षेत्रीको अध्यक्षतामा नेपाल प्रजातान्त्रिक पार्टी गठन गरेको थियो । पार्टीको झापा लगायत २७ वटा जिल्लामा संगठन विस्तार भइसकेको केन्द्रीय अध्यक्ष बानियाँले बताए । सोही कार्यक्रममा पत्रकार गोपीकृष्ण खनाल र अन्तर्राष्ट्रिय विश्व हिन्दू महासंघका अध्यक्ष भरत केसरी सिंहको निधन भएकोमा खनाल र सिंहप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

जर्जर बन्दै गइरहेको नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवम् धार्मिक समस्याहरुको समाधान गर्दै एउटा नयाँ राजनीतिक व्यवस्था वैकल्पिक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पार्टीको गठन गरेको केन्द्रीय अध्यक्ष बानियाँले बताए । उनले जनता नै इतिहासका निर्माता हुन् भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जनतालाई संगठित गरेर मात्र वैकल्पिक प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने पार्टीको कार्यनीति रहेको बताए ।

वैकल्पिक प्रजातन्त्र स्थापना गर्न सिद्धान्त राजनीतिक र दर्शनको क्षेत्रमा नयाँ विचारहरु स्थापना गरेको बताउँदै अध्यक्ष बानियाँले सुशासन, रोजगारी, अखण्डता, राजसंस्था र हिन्दूधर्म आफूहरुको मुख्य मुद्दा रहेको बताए । कार्यक्रमको सञ्चालन पार्टीका महासचिव सुरेन्द्र कार्कीले गरेका थिए ।

Views: 247

प्रतिक्रिया (०)