बिर्तामोड । आफ्ना बालबच्चालाई मोबाइल खेलाउन दिने बानी गर्नुभएको छ ? सावधान । मोबाइलका कारण बालबालिकालाई गम्भीर रोग समेत लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
पछिल्लो समय मोबाइल बालबालिकाका लागि डिजिटल ड्रग बन्दै गएको बालरोग विशेषज्ञ डाक्टर टंक बाराकोटीको भनाइ छ । उनले भने– अहिलेका बालबालिका मोबाइलमा गेम खेल्ने र टीभीमा कार्टुन हेर्ने बाहेक केही गर्दैनन् । होमवर्क गर्न त परै जाओस् खाना खुवाउन समेत गाह्रो छ, मोबाइल चलाउँदै खाना खुवाउनु पर्छ । यसले भोलिका दिनमा बालबालिकामा मानसिक बिचलन समेत ल्याउन सक्ने भएकाले अभिभावकले यो विषयमा बढी चासो दिनुपर्ने डाक्टर बाराकोटीको भनाइ छ । मोबाइलका कारण बालबालिकामा ठूलो समस्या निम्ति सक्ने भएकाले बेलैमा ध्यान दिन उनले सुझाव समेत दिएका छन् ।
बिर्तामोडकी रमा सुवेदी भन्छिन्– मेरी ६ वर्षकी छोरीलाई मोबाइल दिएन भने खानै खान्न । मोबाइल चलाएको बेला खोस्यो भने रिसाउने र झम्टिने गर्छे । अहिले ऊ मोबाइलको कुलतमा फसेजस्तो भएकी र यसबाट कसरी छुट्कारा गराउने चिन्ताको विषय बनेको छ ।
त्यस्तै बिर्तामोडकै सुस्मिता खरेल भन्छिन्– नानीलाई बिहान उठ्न बित्तिकैदेखि राति ननिदाएसम्म मोबाइल दिनुपर्छ । मोबाइल दिएपछि ऊ ढुक्कले खेलिरहेको हुन्छे । यसले आफूलाई सहज भए पनि पछि स्कूल जान थालेपछि के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
चलाइरहेको फोन खोसिया भने बच्चाहरु झनक्क रिसाउने, रुने, कराउने, फोन खोस्नेमाथि झगडा गर्ने, फोन नपाउँदा उदास भएर कुनै पनि काममा अभिरुची नदेखाउने र एकोहोरा हुने गरेकाले यस विषयमा अभिभावकले कुन उमेरमा के कुराको प्रयोग गर्ने भन्नेमा ध्यान दिन आवश्यक रहेको बालरोग विशेषज्ञ डाक्टर बाराकोटीको भनाइ छ ।
प्रविधिको विकाससँगै यस्ता समस्या हरेक अभिभावहरुको साझा समस्या भन्दै गएको उनको भनाइ छ । मोबाइलमा झुम्मिँदा उनीहरुको शारीरिक विकासमा पनि बाधा पुग्ने भएकाले यो विषयमा आम अभिभावकले बेलैमा ध्यान दिनुपर्ने सुझाव दिन्छन्– डाक्टर बाराकोटी ।
बेलायतको सञ्चारमाध्यम इन्डिपेन्डेन्टले विश्वका टप एडिक्सन एक्सपर्टलाई उद्धृत गर्दै लेखेको छ– ‘बच्चाहरुलाई स्मार्टफोन चलाउन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनुजस्तै हो । बच्चाहरुलाई स्मार्टफोन कोकिनभन्दा खतरनाक हुन्छ ।’ अझ खतरनाक कुरा त के भने यस विषयमा अनुसन्धान गरेका अधिकांश चिकित्सकहरुले स्मार्टफोनले बच्चाहरुको भविष्य नष्ट गर्छ भन्ने निष्कर्ष निकालेका छन् ।
‘बच्चालाई त्यसरी सजिलै टेक्नोलोजीको प्रयोग गर्न दिनु भनेको वाइन र कोकिन दिनु सरह हो, हामी जति ध्यान बच्चाहरुले ड्रग्सको प्रयोग गरेकोमा दिन्छौं त्यत्ति नै ध्यान बच्चाहरु टेक्नोलोजिप्रति एडिक्ट भएको खण्डमा पनि दिनुपर्छ’– बेलायतस्थित रिहाब क्लिनिककी विशेषज्ञ मान्डी सालिगरिलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले लेखेको छ ।
स्मार्टफोनले बच्चाहरुको सिक्ने क्षमता र आत्म अनुशासन कम हुने साथै बालबालिकाको मानसिक र सामाजिक विकासमा स्मार्टफोनको लतले असर गर्ने उल्लेख गरिएको छ । नेपालमा यो विषयमा खासै धेरै अध्ययन नभए पनि यसले विस्तारै समस्या ल्याउँदै गएको चिकित्सक तथा अभिभावकहरुको निष्कर्ष रहेको छ । स–साना बालबच्चालाई मोबाइल फोन चलाउन दिँदा आँखाको समस्या, घाँटीको समस्या, औँला तथा निकट भविष्यमा बच्चाहरुलाई दीर्घरोगी बनाउने बालरोग विशेषज्ञ डाक्टर बाराकोटीको भनाइ छ । उनले पछि गएर क्यान्सर जस्ता रोगको शिकार बन्नुपर्ने भन्दै बेलैमा यो विषयमा आम अभिभावकले ध्यान दिनुपर्ने बताए ।
बच्चाहरुलाई मोबाइल खेलाउन दिनुभन्दा अन्य खेल खेल्न प्रेरित गर्नुपर्ने, किताबमा पढ्ने बानी लगाउने र समय कटाउन घुमाउने लगायतका काम गरेर उनीहरुलाई मोबाइलको लतबाट छुट्कारा दिन सक्ने डाक्टर बाराकोटीको भनाइ छ । उनका अनुसार खाना खाँदा, पढ्दा र सुत्ने बेला डिजिटल गेमबाट बालबालिकाहरुलाई टाढा राख्न सकिए मात्रै पनि यस्तो लतबाट छुट्कारा मिल्ने छ ।
त्यस्तै बिर्ता सिटी हस्पिटलका बालरोग विशेषज्ञ डाक्टर रामभक्त सुवेदीले सानै उमेरबाट बच्चालाई मोबाइल दिने बानीले नानीहरुमा मोटोपन बढ्दै गएको बताए । उनले मोटोपनाले गर्दा सानै उमेरमा बालबालिकामा विभिन्न किसिमका दीर्घरोग लाग्ने हुनाले अभिभावक सचेत हुनुपर्ने उनको भनाइ छ । उनले पछिल्लो समय बालबालिकामा आँखाको समस्या समेत देखिएको बताए ।
त्यसैगरी बीएण्डसी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर धर्मपाल रायले बच्चा खुशी पार्न पनि मोबाइल दिने गरिएको भन्दै यो हानिकारक भएको बताए । उनले सानै उमेरमा बालबालिकालाई मोबाइल फोनको लत लागेमा यसले पछि उसको ब्रेनमा समेत असर गर्ने तर्फ सचेत रहन आग्रह गरेका छन् ।
यसैबीच चिकित्सकहरुले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न सुझाव दिएका छन् । फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू तथा अन्य विभिन्न विषयतर्फ आकर्षित गर्नु चिकित्सकहरुले सुझाएका छन् । मोबाइलको अधिक प्रयोगले दिमागमा असर पुग्नुका साथै निराशा, बेचैनी र अनिद्राजस्ता समस्या बढेर जाने भएकाले आवश्यकताका आधारमा मात्रै यस्ता डिजिटल प्रविधिहरुको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।