Aamsanchar

नेपालको अध्यागमन सुरक्षा विषयमा अमेरिकाबाट सहयोग गर्ने चाहना

Author Image
बुधवार, साउन ९, २०७५

काठमाडौँ, 

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बी टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताउनुभएको छ ।

गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरवलोकन हुनुपर्नेलगायत विषयमा समेत जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा मन्त्री थापाले ती विषय मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिनुभयो । केही दिनमा राजदूतका रूपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लाग्नुभएका राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।

गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै गृहमन्त्रीले यसले विश्वशान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत टेप्लिजले आफू १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताउनुभयो । भेटमा मानव तस्करी नियन्त्रण तथा भुटानी एवं तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर