Aamsanchar

खुल्ला सीमानाका कारण झापामा अपराध बढ्यो, ३६४ बलात्कारका घटना

Author Image
बिहिवार, साउन १०, २०७५

पार्थ मण्डल/भद्रपुर।

बढ्दो जनघनत्व, त्यसमाथि भारतको बंगाल तथा विहार राज्यसंगको खुल्ला सीमानाका कारण झापा जिल्लामा अपराधिक क्रियाकलापका घटना बार्षिक रुपमा बढ्न थालेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको चौबार्षिक अपराधिक क्रियाकलापको तथ्यांक अनुसार विभिन्न प्रकारका अपराधका घटना वृद्धि भए पनि प्रहरीको सक्रियताले दर्ता भएका अपराधका मुद्दाहरुको फछ्र्याैट हुने क्रम बढेको छ । झापामा बिशेष गरी आत्महत्या, जबरजस्ती करणी, कर्तव्य ज्यान, भवितव्य ज्यान, लागूऔषध, चोरी, सवारी ज्यान, मानव बेचविखन, सार्वजनिक मुद्दाका घटनाहरु बढी दर्ता हुने गरेको तथ्यांकमा उल्लेख छ ।

प्राप्त तथ्यांक अनुसार कर्तव्य ज्यानमा १३, ज्यान मार्ने उद्योगमा २३, चोरीमा ५२, लागूऔषधमा १२६, सार्वजनिकमा ६७५, मानव बेचविखनमा २७ , बहुविवाहमा २५, ठगीमा २०, जुवामा ९ र अपहरण शरीर बन्धक तथा सरकारी छाप किर्तेमा ६ मुद्दा दर्ता भएका छन् । आर्थिक बर्ष ०७१÷०७२ मा विभिन्न ५३ वटा मुद्दा शीर्षकमा १ हजार २०७ वटा दर्ता भएकोमा १ हजार १ सय ९६ मुद्दा फछ्र्याैट भएका थिए । त्यस्तै ०७२÷०७३ मा १ हजार १ सय ९७ मुद्दा दर्ता भएकोमा १ हजार १ सय ३४ मुद्दा फछ्र्याैट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै ०७३÷०७४मा १ हजार ४ सय मुद्दा दर्ता भएकोमा ९ सय ८५ मुद्दा फछ्र्यौट भएका छन् । आ.व. ०७४÷०७५मा १ हजार ६ सय ८७ मुद्दा दर्ता भएकोमा १ हजार २ सय ९ मुद्दा फछ्र्यौट भएको थियो । चौबार्षिक तथ्यांकमा अनुसार आर्थिक ०७३÷०७४ र ०७४÷०७५ मा आत्महत्या र भवितव्य ज्यान गएको मुद्दा फछ्र्यौट हुन दुई बर्ष लाग्ने गरेको र आउँदो दुई बर्षमा यस्ता मुद्दा फछ्र्यौट भई जाने कानूनी प्रावधान रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) बिष्णुकुमार केसीले जानकारी दिए ।

चार बर्षमा ३६४ वटा बलात्कारका घटना दर्ता

झापामा जबरजस्ती करणी (बलात्कार)का घटना बार्षिक रुपमा वृद्धि हुन थालेको प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष ०७४÷०७५मा १ सय ३३ मुद्दा करणी (बलात्कार) मा दर्ता भएको छ ।

आर्थिक बर्षमा ०७४÷०७५ जबरजस्ती करणीमा ९९ वटा मुद्दा दर्ता भएकोमा ८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी छ । जबरजस्ती करणी उद्योगमा ३४ वटा मुद्दा दर्ता भएकोमा ३ वटा फछ्र्यौट हुन बाँकी छ । अघिल्लो बर्ष ०७३÷०७४ मा जबरजस्ती करणीमा ५७ र जबरजस्ती करणी उद्योगमा १७ वटा मुद्दा फछ्र्यौट भएका थिए । त्यस्तै ०७२÷०७३ मा जबरजस्ती करणीमा ५३ र जबरजस्ती करणी उद्योगमा १९ वटा मुद्दा फछ्र्यौट भएको थिए भने ०७१÷०७२ मा जबरजस्ती करणीमा ४७ र जबरजस्ती करणी उद्योगमा ३८ वटा मुद्दा फछ्र्यौट भएको तथ्यांकमा उल्लेख छ ।

बढ्दो प्रविधिसँगै सामाजिक सञ्जालको क्रेज र अश्लील भिडियोका कारण झापामा बलात्कारका घटनामा वृद्धि हुन थालेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक केसीले बताए । ‘भर्खरका युवतीबाट आफूमाथि बलात्कारभएको भन्दै मुद्दा दर्ता हुने गरेको छ’– प्रहरी उपरीक्षक केसीले भने– ‘बलात्कारसँग जोडिएका घटना कतिपय प्रेम सम्बन्धपछिका हुन्छन् भने कुनै समझदारीमा हुने गरेको र प्रहरी अनुसन्धानको क्रममा भेटिएका छन् ।’

आत्महत्याका घटनामा वृद्धि

घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले झापामा आत्महत्याको घटना वृद्धि हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत आर्थिक बर्ष ०७४÷०७५मा २४७ जनाले आत्महत्या गरेको प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये २११ जना झुण्डिएर, २५ जना बिष सेवन गरेर र एक जनाले आगो लगाएर आत्महत्या गरेको प्रहरी उपरीक्षक केसीले बताए । आर्थिक बर्षमा ०७३÷०७४ मा १९७ जना झुण्डिएर, ३१ जना बिष सेवन गरेर, आगो र औजारबाट १÷१ जनाले आत्महत्या गरेका थिए । त्यस्तै ०७२÷०७३ मा १९३ जनाले झुण्डिएर, ४२ जनाले बिष सेवन गरेर, आगोबाट ३ र औजारबाट १ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी ०७१÷०७२ मा १८३ जना झुण्डिएर, ५५ जना बिष सेवन गरेर र ३ जनाले आगो लगाएर आत्महत्या गरेका थिए ।

झापामा आत्महत्याको घटना बार्षिक रुपमा बढ्न थालेपछि यसको रोकथामका लागि तत्कालीन अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारीले जिल्लाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्याका घटना अझै पनि रोकिएको छैन ।

सवारी दुर्घटना परी ३४२ जनाको मृत्यु

सवारी साधनको चाप र साँघुरो सडकका कारण झापामा बार्षिक रुपमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि हुन थालेको छ । गत चार बर्षको अवधिमा झापाका विभिन्न स्थानमा सवारी दुर्घटना परी ३४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आर्थिक बर्ष ०७४÷०७५ मा विभिन्न सवारी दुर्घटनामा परी १०९ जनाको मृत्यु भएको छ । ०७३÷०७४ मा ८३, ०७२÷०७३ मा ७५ र ०७१÷०७२ मा ७३ जनाको मृत्यु भएको छ, भने चार बर्षको अवधिमा सवारी भवितव्यमा परी १६ जनाको मृत्यु भएको छ । बार्षिक तथ्यांक केलाउँदा बर्षौपिच्छे सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको देखिन्छ ।

झापामा दुर्घटना बढ्न थालेपछि प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले संयुक्त रुपमा दिनहँु सवारी चेकजाँचलाई तीव्रता दिएको छ । सवारी साधनको गति मापन गर्न प्रहरीले राजमार्ग र सहायक राजमार्गमा ¥याडर गनको प्रयोग गरी चेकजाँच थालेको प्रहरी उपरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर