सुरुङ्गा।

कनकाई नगरपालिकामा कृषिजन्य वस्तु उत्पादनको सम्भाव्यता अध्ययनको आधारमा हाललाई ७ वटा पकेट क्षेत्र बनाइने भएको छ ।

कनकाई नगरपालिकाले सार्वजनिक गरेको आ.व. २०७५÷०७६ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा नगर क्षेत्रमा योजनाबद्ध र गुणस्तरीय रुपमा कृषि उत्पादनलाई अभिवृद्धि गर्न कृषि पकेट क्षेत्रको घोषणा गरिएको हो ।
कृषि उत्पादनको विविधिकरण तथा विशिष्टीकरणको लागि कृषिजन्य वस्तुहरुको उत्पादन सम्भाव्यता, अनुकूलता तथा हाल भइरहेको कृषिजन्य उत्पादन समेतलाई मध्यनजर राख्दै कृषि पकेट क्षेत्रहरुको घोषणा गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

घोषणा गरिएको पकेट क्षेत्रहरुमा वडा नं. ४को त्रिवेणी क्षेत्रलाई तरकारी पकेट क्षेत्र, वडा नं. ६लाई मकै पकेट क्षेत्र, वडा नं. ३ र ७ लाई च्याउखेती पकेट क्षेत्र, वडा नं. ४को कनकाई टोल, वडा नं. ५ र वडा नं. ३को सीमाक्षेत्रलाई मौरीपालन क्षेत्र, वडा नं. १ र २लाई पशुपंक्षीपालन पकेट क्षेत्र, वडा नं. ८लाई धान पकेट क्षेत्र र वडा नं. ९ लाई धान र माछापालन पकेट क्षेत्रको रुपमा विकास गरिनेछ । क्रमशः थप अन्य कृषि पकेट क्षेत्रहरु घोषणा गरिँदै लगिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, कृषि तथा पशुपन्छी क्षेत्रमा आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई थप विस्तार तथा प्रभावकारी बनाउन पहल गरिने, तरकारी, दूग्ध तथा मासुजन्य उत्पादनमा नगर क्षेत्रलाई आत्मनिर्भर बनाइने, उक्त वस्तुहरुको निकासी, प्रबद्र्धन गर्न कृषकलाई आवश्यक सहयोग गरिने र कनकाई नगरक्षेत्रलाई बिषादिरहीत, अग्र्यानिक खेती उन्मुख क्षेत्रको रुपमा विकास गरिने नीतिलाई निरन्तरता दिइने बताइएको छ ।
कनकाई नगरपालिकाले अगाडि सारेको उक्त नीतिलाई सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष एवम् विषादिमुक्त अग्र्यानिक खेतीप्रणालीका अभियन्ता गंगाप्रसाद ढुंगेलले सह्राहना गर्दै बनाइएका नीति व्यवहारमा लागू गर्न नगरपालिका तथा कृषक दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

