Aamsanchar

शनिश्चरे–खुदुनाबारी सडकको ज्वाइन्ट सर्वे

Author Image
बिहिवार, साउन १०, २०७५

अर्जुनधारा।

नेपाल सरकारको ग्रामीण पहुँच कार्यक्रम (¥याप ३) अन्तर्गत कालोपत्रे हुने ठेक्का भइसकेको झापाको अर्जुनधारा–८स्थित शनिश्चरे–खुदुनाबारी हुँदै इलामको सुखानी चोकसम्मको सडकको ज्वाइन्ट सर्वे भएको छ ।

दुई वर्षभित्र साढे नौ किलोमिटर सडकको भागमा कालोपत्रे सम्पन्न गरिसक्ने उक्त सडकको ज्वाइन्ट सर्वेको प्रतिवेदन एक साताभित्र आउने जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले जानकारी दिए ।

लामा कन्ट्रक्सनका लागि पोर्तेम्बा सेर्पासँग आठ करोड ४३ लाखमा सम्झौता भएको सडकको चौडाइ ४६ फिट हुनेछ । सडक निर्माणका लागि बजार क्षेत्रका बासिन्दालाई सडक क्षेत्र खाली गर्न एक महिनाको म्याद दिइने नगर प्रमुख हरिकुमार रानाले बताए ।

त्यसैगरी चालू आर्थिक वर्षमा काम शुरु हुने गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामबाट वडा नम्बर १० र ११का दुईवटा सडकमा कालोपत्र गरिने भएको छ । करिब ३८ करोडको लागतमा कालीस्थान–चिसापानी–सालबारी–बुट्टाबारी र मंगलमणि मार्ग–पञ्चकन्या मन्दिर हुँदै शान्तिमार्ग–बरपिपल–धाइजन जोड्ने सडक कालोपत्रे हुने डिभिजन कार्यालयका डिभिजन इञ्जिनियर सुबास बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सडकका लागि बुधबार बोलपत्र आह्वान गरिको छ । ‘लगभग तिहारपछि काम शुरु हुन्छ’– उनले भने– ४० फिट चौडाइको सडकमा बेस, सव बेस, ब्ल्याक टपसहित बजार क्षेत्रमा ड्रेन पनि निर्माण गरिनेछ । दुवै सडकको लम्बाइ १३ किलोमिटर रहेको छ ।

Views: 197

प्रतिक्रिया (०)