Aamsanchar

पूर्वाधारविनै भन्सारको स्तरोन्नति

Author Image
शनिवार, साउन १२, २०७५

पार्थ मण्डल

भद्रपुर  ।

भारतको विहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालयको यही साउन १ गतेदेखि स्तरोन्नति भएको छ ।
भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत रहेको भद्रपुर छोटी भन्सारलाई भन्सार विभागले छुट्टै भन्सारको दर्जा दिएको छ । छोटीलाई हटाएर विभागले भद्रपुर भन्सार कार्यालय नामकरण गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भए पनि विभागबाट कर्मचारी नखटाइएकोले साउन महिनाभरि मेची भन्सारकै मातहतमा सञ्चालन हुने मेची भन्सार प्रमुख टेकनाथ अर्यालले जानकारी दिए । ‘मेचीबाट एक जना अधिकृतको दरबन्दी कटौति भइसकेको छ’– भन्सार प्रमुख अर्यालले भने– ‘विभागबाट अधिकृतसहितको कर्मचारी पठाएपछि यहाँको सम्पूर्ण काम र कर्तव्य विभागसंग जोडिनेछ ।’

छुट्टै अधिकारमा भद्रपुर भन्सार कार्यालय सञ्चालन आएसँगै भन्सार विभागको मातहत झापामा काँकरभिट्टा र भद्रपुर दुई वटा प्रमुख भन्सार कार्यालय हुनेछन् । मेची पुल निर्माण कार्य सम्पन्न भएलगत्तै नेपाल सरकार र भन्सार विभागको पहलमा भद्रपुर भन्सारको स्तरोन्नति भएको बताइएको छ । यस भन्सार मातहत माई पूर्व र राजगार्म दक्षिण सञ्चालित छोटी भन्सारहरु केचना, झापा, घेराबारी र पञ्चपाडा भद्रपुर भन्सार अन्तरगत राख्ने विभागले तयारी थालिसकेको मेची भन्सार प्रमुख अर्यालले बताए ।

पूर्वाधार बिना छुट्टै भन्सारले चुनौति
भद्रपुर नगरपालिकासँगसँगै भद्रपुर भन्सार कार्यालयको स्थापना वि.सं. २००८ सालमा भएको इतिहास छ । सो बेला झापाको प्रमुख भन्सार कार्यालय भद्रपुर मात्र थियो । पछि पूर्व–पश्चिम महेन्द्र राजमार्ग सुचारु भई काँकरभिट्टासँग जोडिन पुगेपछि मेची भन्सार कार्यालयको स्थापना भएको हो ।

मेची भन्सारको स्थापनापछि भद्रपुर भन्सार छोटी भन्सार कार्यालयमा परिणत हुन पुग्यो । वि.सं. २०३९ सालदेखि भद्रपुर छोटी भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो । भद्रपुर–५स्थित करिब १० कठ्ठा क्षेत्रफलमा अवस्थित भद्रपुर भन्सारमा हाल दुईवटा गोदाम घर र एउटा भवन मात्र छ । पुरानो भवन भत्काएर पाँच बर्षअघि मात्र दुई तले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको थियो । तर, निर्माण गरिएको भवनका केही भाग मेची पुलको सडकले छोएको छ ।

सडक बनाउन भन्सारको भवन आधा भन्दाबढी भत्काउनुपर्ने हुन्छ । भवन भत्किए कर्मचारीलाई काम गर्न समस्या उत्पन्न हुनेछ । ‘हुलाकी राजमार्ग आयोजनाले जमिन खाली गराउन भन्सारलाई पत्राचार गरिसकेको छ– मेची भन्सार प्रमुख अर्यालले भने– अहिलेसम्म भवन र पर्खाल भत्काएका छैनांै, अबको केही समयपछि भत्काउनुपर्ने हुन्छ, त्यसपछि काम गर्ने कर्मचारीलाई चुनौति थपिन्छ । भन्सार विभागले पूर्वाधारको योजनासंगै भद्रपुर भन्सारलाई छुट्याउनु पर्ने हुन्थ्यो– उनले भने– त्यो नगरिएकोले अब नेपाल सरकार, भन्सार विभाग र स्थानीय सरकारले द्रुतगतिमा भन्सारको पूर्वाधार निर्माणमा जुट्नुपर्ने बेला आएको छ ।

भन्सारलाई १० विगाह जमिन आवश्यक
भारतको विहार र बंगाल राज्य, बंगालदेशसहित भुटानसँगको दुरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० विगाह जमिनको आवश्यकता रहेको मेची भन्सारका अधिकृत गणपति कँडेलले बताए । उनले भने– अहिले रहेको भन्सारको पछाडिपट्टिबाट सडक विस्तार हुने भएकाले सडकको दुवैतर्फ गरी १० विगाह जमिन चाहिन्छ । सडकको दुवैतर्फको जमिनको नक्सा नापी कार्यालय झापाबाट निकाली सकेका छौ– उनले भने– नक्साको कागजात भन्सार विभाग पठाइसकेका छौं, त्यहाँबाट जमिन खरिदका लागि अध्ययन शुरु भइसकेको छ र विभागले अर्थ मन्त्रालयसँग जमिन खरिदका लागि प्रक्रिया समेत अघि बढाइसकेको छ ।’

यता मेची भन्सार प्रमुख अर्यालका अनुसार जमिन खरिदका लागि भन्सार विभागबाटै स्थलगत अनुगमन गर्न टोली आउनेछ । भद्रपुर भन्सारलाई ठूलो क्षेत्रफलमा जमिन चाहिन्छ, नत्र पछि जमिनकै कारण राजश्व संकलनमा प्रभावित हुन सक्छ । कम्तीमा दुई सय सवारीसाधन राख्ने गरी पूर्वाधार निर्माण हुनु पर्छ– उनले भने– भन्सारलाई १० विगाहा भन्दा कम्ती जमिनले पुग्दैन किनभने भन्सारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेकजाँच स्थल, पशु, कृषि, खाद्य क्वारेन्टाइन, कार्यालय, कोदाम, पार्किङ्गस्थल हुनुपर्छ ।,

के भन्छन् व्यवसायी ?
भद्रपुर भन्सारको स्तरोन्नति भएपछि राजमार्ग दक्षिण भेगका व्यवसायी तथा उद्योगी हर्षित भएका छन् । भद्रपुर भन्सारमा विभागबाटै कर्मचारी पठाउने र आवश्यक पूर्वाधार निर्माणका लागि झापाली उद्योगी, व्यवासयीबाट पहल भइरहेको झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले बताए । भद्रपुर भन्सारलाई चाँडोभन्दा चाँडो स्तरोन्नति गरी सञ्चालनमा ल्याउन संघको तर्फबाट पनि दवाव दिइरहेको उनले बताए ।

मेची पुल त बन्यो, तर नेपाल र भारत दुवैतर्फ सडक बनेको छैन– अध्यक्ष ढकालले भने– भारततर्फको सडक बनाउन नेपाल सरकारले भारत सरकारसँग तत्काल पहल गर्नुपर्नेछ र नेपालतर्फको सडकलाई पनि द्रुतगतिमा अघि बढाउनुपर्छ । पुल जोड्ने सडक र भन्सार सँगसँगै सुचारु गर्ने सकिए यहाँको उद्योगी–व्यवसायीलाई ठूलो फाइदा पुग्नेछ– उनले भने । भारतको कलकत्ता र बंगलादेशबाट सरसामान आयात निर्यात गर्न काँकरभिट्टाभन्दा भद्रपुर नाका सहज हुने उनले बताए ।

जनअपेक्षा अनुसारको कामले तीव्रता नलिएको प्रति झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु)ले आपत्ति जनाएका छन् । भद्रपुर भन्सारको स्तरोन्नति गरेर मात्र भएन्, यसको पूर्वाधारसहितको भौतिक संरचनाको पनि संगसँगै विकास हुनुपर्छ– उनले भने– अहिले पुल जोड्ने सडक छैन्, पछि सडक बन्ला तर, भन्सारको पूर्वाधार त्यसबेला सम्म पनि निर्माण भएन भने भन्सारको कुनै अर्थै रहँदैन । भारततर्फ सडकसँगै भन्सारको पनि समस्या छ, त्यसैले सरकारले भारतसंग तत्काल पहल कदमी थाल्नुपर्छ, अनि मात्र यसक्षेत्रको व्यवसायिक विकास हुन्छ– उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर