Aamsanchar

मनकारी मानबहादुरले पाथिभरामा सिंढी बनाएर जन्मदिन मनाए

Author Image
शनिवार, साउन १२, २०७५

गणेश अर्याल

इलाम । जन्मदिन कतै पूजा लगाएर मनाइन्छ भने कतिले सामाजिक संघ–संस्थामा सहयोग गरेर मनाउँछन् ।

हिजोआज नयाँ पुस्ताका युवायुवतीहरु पश्चिमी सभ्यताको सिको गर्दै केक काटेर खर्चिलो रुपमा जन्मदिन मनाउँछन् कतिले बत्ती निभाएर उज्यालो भबिष्यको कल्पना गर्लान् तर बिर्तामोडका वयोबृद्ध एक व्यक्तिले सिंढी बनाएर जन्मदिन मनाएका छन् । त्यो पनि इलाम जिल्लाको कुटीडाँडास्थित पाथीभरा मन्दिर जाने सिंढी ।

झापा बिर्तामोड नगरपालिका–५का मानबहादुर गिरीले आफ्नो ९५औ जन्मदिन इलामको पाथीभरा मन्दिरमा मनाए । हाँसपोखरीबाट पाथीभरा मन्दिर जाने बाटोमा गिरीले २ सय २० मिटर सिंढी बनाउन ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पाथीभरा संरक्षण संस्थाका अध्यक्ष दौलथकुमार राईले बताए । ‘हाँसपोखरीपट्टिबाट मन्दिर जान असजिलो थियो’– अध्यक्ष राईले भने– ‘गिरीले सिंढी बनाउने प्रस्ताब गरेपछि १ लाख ८६ हजार रुपैयाँ मन्दिरको तर्फबाट थप गरेर कूल १० लाख ८६ हजारमा २ सय २० मिटर बाटोमा सिंढी निर्माण गरियो ।’ बिहीबार पाथीभरा मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रममा गिरीको जन्म दिनको अवसरमा बनाएको बाटोको उद्घाटन र हस्तान्तरण गरिएको छ ।

पाथीभरा मन्दिरले आयोजना गरेको कार्यक्रममा दानबीर गिरीको सु–स्वास्थ्य र दीर्घायुको कामनासहित सम्मान–पत्र प्रदान गरिएको थियो । पाथीभरा मन्दिरको तर्फबाट दानबीर गिरीलाई सम्मान गरिएको हो । पाथीभरा मन्दिरमा आउने भक्तजनलाई आवतजावत गर्न सजिलो होस् भनेर बाटोमा सिंढी बनाउन सहयोग गरेको गिरीले बताए । ‘बिकास भनेको बाहिर कतैबाट आउने होइन’– गिरीले भने– ‘सबै जना मिलेर काम गर्ने भए पाथीभराको थाप्लोसम्म नै सुबिधाको बाटो बनाउन सकिने छ ।’ हाँसपोखरी क्षेत्रबाट पाथीभरा मन्दिर जान निक्कै अप्ठ्यारो थियो । सिंढी बनाएपछि बाटो सजिलो भएको संस्थाका उपाध्यक्ष राम खवासले बताए । ‘बाटो अलि फराकिलो, घुमाउरो र उकालोको अनुभव पनि हुन्छ’– उपाध्यक्ष खवासले भने– ‘हामीले निकै प्रयास गरिरहेका थियांै, दाताले सहयोग गर्नुभयो, भक्तजनलाई सजिलो भएको छ ।’

यसअघि पाथीभरा मन्दिर जानको लागि कुटीडाँडापट्टिबाट सिमेन्टेड सिंढी निर्माण भइसकेको छ । पाथीभरा मन्दिरमा मंगलबार, शनिबार, साउने सोमबार, औशी पूर्णिमा तथा बिशेष दिन पारेर आउने भक्तजनको संख्या बढी हुने गरेको मन्दिरका सचिब दिलीप राई बताउँँछन् । रोङ गाउँपालिका अन्तर्गत वडा नम्बर ३मा पर्ने पाथीभरा मन्दिर क्षेत्रको एकीकृत बिकास गर्न गाउँपालिकाले गुरु योजना नै बनाएको छ । गुरुयोजना अन्तर्गत मन्दिर आसपासका चामेटार, भाङटार, चिण्डे, मझुवा लगायतको क्षेत्रको एकीकृत बिकास गर्ने योजना समेटिएको ३ नम्बर वडा अध्यक्ष मातृका बराल बताउँछन् । ‘पाथीभरा क्षेत्र बिकास समिति बनाउने र मन्दिरको आम्दानीलाई गाउँपालिकाको खातामा जम्मा हुने गरी आवश्यक नीति नियम तथा कार्यबिधि बनाइएको छ’– वडा अध्यक्ष बरालले भने– ‘आम्दानी मात्र हेर्ने होइन, भएको र गर्नुपर्ने बिकासका कामलाई पनि योजनाबद्ध रुपमा गर्न योजना बनाएका छांै ।’ समुन्द्र सतहबाट करिब १७५० मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर नजिकैको रमिते डाँडा कुहिरोबाट पानी संकलन प्रबिधिका कारण आकर्षणको रुपमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर