Aamsanchar

दीर्घकालीन रुपमा खोला नियन्त्रण हुने स्थानीयवासीको आशा

Author Image
आइतवार, साउन १३, २०७५

दमक।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सम्झौता अनुसार चिनियाँ प्राविधिकको टोलीले झापाका ९ वटा खोलाहरुको व्यवस्थित तटबन्धन र व्यवस्थापनका लागि प्रारम्भिक सर्वेक्षण पूरा भएसंगै अब दीर्घकालीन रुपमा खोला नियन्त्रण हुने र यसबाट जिल्लाले ठूलो आर्थिक लाभ लिन सक्ने सरोकारवालाहरुले बताएका छन् ।

कन्काई, मावा, रतुवा र कमल लगायतका बढी क्षति गर्दै आएका खोलाहरुदेखि लिएर किस्ने, सतासी लगायतका खहरे खोलाहरुको समेत चिनियाँ प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि अब झापा जिल्ला खोलाको उकास जमिनबाट नै आर्थिक समृद्धिको क्षेत्रमा अघि बढ्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ रहेको छ । गत साता चीनबाट आएको ७ सदस्यीय प्राविधिकहरुको टोलीले मंगलवार प्रारम्भिक चरणको सर्वेक्षण पूरा गरेसंगै यसले स्थानीयमा उत्साह जागृत गरेको समेत पाइन्छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार दमकमा चिनियाँ सरकारले बनाउने भनिएको ‘दमक औद्योगिक पार्क’ समेत खोलाको बगर नै पर्दछ । रतुवा र मावा खोलाको उकाश जमिन पार्कका लागि व्यवस्थापन गरिएको छ । स्थानीयले खोला बगरमा बोटबिरुवा र काँस लगाएर खोलालाई ठीक ठाउँबाट बगाउने अवस्था सिर्जना गरेपछि बचेको जमिन अहिले औद्योगिक पार्कस्थल बनेको हो ।

उनका अनुसार अब दीर्घकालीन रुपमा खोलालाई दुबैतर्फबाट नियन्त्रण गर्दा एवम् तटबन्धन गर्दा सयौ बिगाह जमिन निस्कनेछ । यसलाइ उद्योग कलकारखाना बनाउन, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, सुकुम्बासी समस्या सामधानका लागि आधुनिक सुकुम्बासी बस्ती बनाउनका लागि समेत उपयुक्त हुने भएकाले यसले आर्थिक बचतका साथै आयआर्जनको माध्यम बनाउन सकिने उनले बताए ।

झापा क्षेत्र नं. ५का सांसद एलपी साँवाले अहिले सर्वेक्षण भएका ९ वटा खोलाहरुले बगर बनाएको जग्गा उपयोग गर्न सकिए मात्र पनि झापाको बिकासमा कायपलट हुने थुप्रै सम्भावानाहरु रहेका छन् । जिल्लाको करिब आधा भू–भाग खोलाहरुको जोखिममा रहेको बताइँदै आएको छ । झण्डै ५० हजार बिगाह जमिन खोलाको कटान र उच्च जोखिममा रहेको बताउँदै यसको संरक्षण भएमा यसबाट आर्थिक लाभ हुने उनको दाबी रहेको छ ।

साँवाले अहिले ठूला परियोजना सञ्चालनका लागि, उद्योग कलकारखाना सञ्चालनका लागि, बिभिन्न खेलमैदानहरु बनाउनका लागि जग्गाको अभाव रहेको बताउँदै खोला कटान क्षेत्रलाई व्यवस्थापन र व्यवस्थित गरेमा यसका लागि जग्गाको पर्याप्त व्यवस्था हुने बताए । अहिले सबैको टाउको दुखाइ बनेका यहाँका खोला र खोलाधार यहाँको आयश्रोतको माध्यम बन्नेछ– साँवाले भने ।

जग्गा कटानबाट हैरान भएकाहरुले सहज सिञ्चाइ पाउने र यसले कृषिजन्य उत्पादनहरु समेत बृद्धि भएर आयातलाई प्रतिस्थापन गर्न सघाउ पुग्ने पूर्व सांसद दीपक कार्की बताउँछन् । चिनियाँ प्राविधिक टोलीले खोलाको स्थलगत अवलोकनको क्रममा खोलाको डिल र आसपासमा जडीबुटीजन्य खेती अहिलेसम्म हुन नसक्नु कारण सोधेको जनाउँदै यसतर्फ अहिलेसम्म कसैको ध्यान नगएको उनले बताए ।

आखिर खोला आसपासमा हुने जडीबुटी तथा अन्य आम्दानी गर्न सकिने बोट बिरुवा लगाउँदा पनि हुनेरहेछ, यसले पनि आर्थिक उपार्जन नै गर्न सकिन्छ– कार्कीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमा बिकास र जनसम्पर्क सहयोगीको रुपमा रहेका होमबहादुर थापाले खोलालाई ब्यवस्थित गरेर आम्दानी एवम् आयश्रोतको माध्यम बनाउनका लागि नै यो अध्ययन भएको बताए । दीर्घकालीन रुपमा झापाबासीहरुलाई फाइदा पुग्ने गरी र यसबाट प्रत्यक्ष एवम् अप्रत्यक्ष लाभ लिन मिल्ने गरी खोलाहरु नियन्त्रण हुने उनको भनाइ छ ।

यो टोलीले बढीमा ६ महिनाभित्रमा सरकारलाई प्रारम्भिक चरणको प्रतिवेदन दिने र त्यस आधारमा फेरी बिस्तृत अध्ययन शुरु हुने थापाले बताए । प्रारम्भिक चरणको अध्ययन पुरा भएको छ र अब टोली आजभोलि नै फर्कने छ– थापाले भने । झापामा बर्षेनि यी खोलाहरुबाट ४० हजार बढी प्रभावित हुने गरेका छन् । रेडक्रस सोसाइटी झापाका अनुसार बाढीमा परी पछिल्लो २ बर्षमा १७ जनाको मृत्यु भएको छ ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर