काठमाडौं,

राजपा र सरकारकाबीचमा खटपट सुरु भएको छ। आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति जुटेपछि सरकारलाई समर्थन दिएको राजपा र सरकारका बीचमा अहिले खटपट सुरु भएको हो।

सरकारले संविधान संशोधनमा कुनै पनि चासो नदिएको भन्दै राजपा असन्तुष्ट बनेको हो। राजपा नेतृत्वलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाब समेत पर्न थालेको छ। गत साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर राजपा अध्यक्ष मण्डलका नेताले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए।
ओलीले संविधान संशोधनका विषयमा आफू सकारात्मक रहेको बताए पनि अहिलेसम्म संशोधनमा चासो नदेखाएको राजापाका नेताहरूले आरोप लगाउन थालेका छन्। मधेस आन्दोलनका क्रममा राजपाका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, पीडितलाई राहत र कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीलाई जेलमुक्त गराएर शपथ ग्रहण गराउनुपर्ने माग राजपाले राखेको थियो।

यो विषय कार्यदल बनाउर टुंग्याउने बचन ओलीले दिएका थिए। पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूहरूको मागप्रति ध्यान नै नदिएको भन्दै राजपा नेताहरू असन्तुष्ट बनेका हुन्।


