Aamsanchar

चीनको सहयोग महत्वपूर्ण – अध्यक्ष दाहाल

Author Image
सोमवार, साउन १४, २०७५

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ ।”

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाउनुभएको थियो । उहाँले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकामा बधाई दिनुभयो । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताउनुभयो । ‘वान बेल्ट वान रोड’ परियोजना कार्यान्वयनका लागि सहज वातावरण तयार भएको उहाँको भनाइ थियो ।

Views: 201

प्रतिक्रिया (०)