काठमाण्डौं ।

नेकपामा आबद्ध विभिन्न २२ जनसंगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न पार्टीले सम्बन्धित कार्यदललाई जिम्मेवारी दिएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुनेछ ।

ती जनसंगठनको एकताका लागि गठित कार्यदलले सम्बन्धित दुवै कमिटीको केन्द्रीय कमिटीमा एक चरण छलफल गरी विधान, संगठनको नाम र सम्भावित संगठन संरचनाबारे राय, सुझाव लिइसकेका छन् ।

इञ्जिनियरिङ पेशाकर्मीको संगठनको एकता घोषणा गत शनिबार भइसकेको छ । सचिव श्रेष्ठले प्रदेश, जिल्ला र स्थानीय तहसम्मको एकताका लागि विधान र नियमावली जारी भएको मितीले तीन महिनाभित्र काम सक्ने गरी तयारी भएको बताउनुभयो ।
पार्टी एक भइसकेकाले संगठनात्मक पक्षको एकताका लागि केही समय लागेमा कुनै समस्या नपर्ने दाबी गर्दै श्रेष्ठले अधिकतमरुपमा दशैँअगावै एकतासम्बन्धी सबै कार्य पूरा हुने बताउनुभयो ।

