काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ ।

‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले मंगलबार राजधानीमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताउनुभयो ।

“राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता र ट्रेड युनियनको सम्बन्धलाई सुदृढ गर्न नसक्ने हो भने क्रान्तिका उपलब्धि उल्टिन बेर नलाग्ने बताउँदै क्रान्ति पछिको प्रतिक्रान्ति जब्बर हुने भएकाले सबैले आँखा चनाखो र कान ठाडो पार्नुपर्छ भन्नुभयो ।

