Aamsanchar

बडीविल्डर रामको गुनासो राज्यलाई चिनाएँ, राज्यले चिनेन

Author Image
बुधवार, साउन १६, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी
बिर्तामोड । खान लाउनका दुःखले कक्षा ८ पढ्दापढ्दै घरबाट भागेर काठमाडौं पुगेका सप्तरीका राम दाहाललाई अझै याद छ– घण्टाघरको चिसो सिँढीमा तीन रात बिताएको ।

काठमाडौं पुगेकै दिन पुरानो बसपार्कमा रामले गाडीको सिसा पुछेर ३० रुपैयाँ कमाइ गरे । जसमध्ये २० रुपैयाँको खानामा खर्च भयो र होटलमा सुत्न पैसा नभएपछि घण्टाघरको चिसो सिँढीमा रात बिताएको स्मरण गर्दै उनले भने– ‘विगत सम्झँदा अहिले सपनाझैँ लाग्छ ।’ सन् २०१३मा हङ्कङमा भएको एशियन गेममा शारीरिक सुगठन (वडी विल्डिङ) तर्फ ६० केजी तौल समूहमा देशका लागि रजत पदक दिलाउन सफल भएसँगै उनलाई विगत सम्झँदा सपना झैं लाग्नु पनि स्वभाविक हो ।

यसअघि सो प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कसैले रजत पदक पनि हात पार्न सकेका थिएनन् । खेल क्षेत्रका माध्यमबाट विश्वमा नेपाललाई चिनाएका रामले योसंगै थुप्रै प्रतियोगितामा सफलता हात परेका छन् । खेल भन्ने बित्तिकै फुटवल , भलिवल, क्रिकेटलाई सम्झिए पनि शारीरिक सुगठन(वडी विल्डिङ)का तर्फबाट देशलाई स्वर्ण पदक दिलाएका रामलाई सरकारले अहिलेसम्म खोजी गरेको छैन ।

 

उनले नवौं साफ गेम २०१५मा दक्षिण एसियाका तर्फबाट ६० केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भए । साफ गेममा पनि वडी विल्डिङमा स्वर्ण पदक दिलाउने राम नेपालका लागि पहिलो व्यक्ति हुन् । तर, सरकारले शारीरिक सुगठन(वडी विल्डिङ) खेललाई खासै चासो नदिएको रामको अनुभव छ । उनले भने– ‘देशका लागि स्वर्ण तथा रजत पदक दिलाउँदा सरकारले खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा एउटा खाँदा र २० हजार रुपैयाँ दिएर खेलाडीलाई टाटो मार्ने काम गर्छ ।’

राम नेपालमा भएका शारीरिक सुगठन(वडी विल्डिङ) तर्फका ५ वटा प्रतियोगितामा ओभरल विजेता भइसकेका छन् । उनले सन् २०१४मा मिस्टर वूढासुव्वा, २०१५मा मिस्टर सगरमाथा, २०१६ मा मिस्टर वुल्समेन, २०१७मा नेपाल च्याम्पियन, सन् २०१२मा मिष्टर हिमालय नेशनल वडी विल्डिङ प्रतियोगितामा ओभरल विनर बनिसकेका छन् । उनले धर्मश्री वडी विल्डिङ प्रतियोगितामा दुई पटक फष्ट रनरअपको उपाधि समेत उचालेका छन् । ६० देखि ७० केजी तौल समूहका प्रतियोगितामा भाग लिने गरेका रामले अहिलेसम्म उपाधिविहीन हुनु परेको छैन । उनी जहाँ जान्छन् कुनै न कुनै उपाधि हात पारेर मात्रै फर्किन्छन् ।

खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने मान्यता बोकेका राम अहिले स्पेनमा आगामी नोभेम्वर महिनामा हुने वल्र्ड च्याम्पियनसिप प्रतियोगिताको तयारी गरिरहेका छन् । उनले यही भदौ १ र २ गते हुने मिष्टर एभरेष्ट शारीरिक सुगठन(वडी विल्डिङ) प्रतियोगितामा समेत सहभागिता जनाउने बताए । उनी स्पेनमा हुने वल्र्ड च्यापियनसिप प्रतियोगिताको स्वर्ण पदक जितेर विश्वसामु नेपाललाई खेलका माध्यमबाट चिनाउन सक्नेमा ढुक्क छन् । उनले पूर्वाञ्चलकर्मीसँगको कुराकानीमा भने– ‘म वल्र्ड च्यापियनसिप बन्छु, यसमा मलाई कुनै शंकै छैन ।’

कसरी बने उनी वडी विल्डर
फूलमाया र महेन्द्रबहादुर दाहालको माइँला छोराका रुपमा २०३५ सालमा जन्मिएका रामले कक्षा आठसम्मको औपचारिक शिक्षा लिएका छन् । आर्थिक अभावका कारण रोजगारी खोज्दै राजधानीतर्फ भांैतारिएका रामले थुप्रै संघर्ष झेल्नु परेको थियो । विगतलाई सम्झँदै राम भन्छन्–‘ गाडीको सिसा पुछ्नु मात्र होइन तीन महिनासम्म त होटलमा ‘डेक्ची ड्राइभर’ समेत हुनु प¥यो । विगतको तीतो अनुभव पूर्वाञ्चलकर्मीसँग बताउँदै गर्दा उनी भावुक बनेका थिए । उनले काठमाडौंमा घर बनाउने मिस्त्रीको काम गर्न समेत भ्याए । मिस्त्रीदेखि ठेकदारसम्म भएका रामले सोही बेला शारीरिक सुगठन (बडी विल्डिङ)को प्रशिक्षणसमेत लिन भ्याए । आफैं भाडामा बस्ने घरवेटीका छोराको माध्यमबाट उनी बडी विल्डिङतर्फ आकर्षित भए । सोही क्रममा २०५३ सालमा बडी विल्डिङ प्रतियोगितामा सहभागी सबैलाई पराजित गर्दै उनी बिजयी भएसँगै उनको दैनिकी एकाएक फेरियो ।

राममाथि प्रहरीको नजर
बडी विल्डिङ प्रतियोगितामा विभागीय टोली बाहेक कसैले पनि यसअघि यो प्रतियोगिताको उपाधि चुम्न सकेका थिएनन् । तर, रामले सवैलाई पराजित गर्दै उपाधि जितेपछि राममाथि प्रहरीको नजर लाग्यो । उनलाई तत्कालीन सशस्त्र प्रहरीका आइजीपी कृष्णमोहन श्रेष्ठको आग्रहमा नेपाल प्रहरीमा सिपाहीको जागिर दिएर खेल्न राखियो । उनले प्रहरीका तर्फबाट ६ वर्ष बडी विल्डिङ प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरे ।

विवाहपछि कोल्टे फेरे रामले
नेपाल प्रहरीमा सिपाहीको जागिरमा जम्मा २७ सय तलव खाँदै आएका राम शारदासँगको विवाहपछि भने जागिर छाड्ने निधोमा पुगे । ६ वर्षसम्म नेपाल प्रहरीको जागिर खाएका रामले विवाह लगत्तै जागिर छाडेर विदेश हुइँकिए । २०६४ सालमा संयुक्त अरव इमिरेट्स (यूएई) को होटल ¥याडिसनमा १० वर्षसम्म काम गरेका उनले सोही वखत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउँदै थुप्रै उपाधि हात पारे । संयुक्त अरव इमिरेट्समा रहेको फाइभस्टार होटलमा बडी विल्डिङ प्रशिक्षकका रुपमा काम गरेका रामलाई विदेशी नागरिकले आफ्नै देशमा केही गर्न सुझाएपछि उनी अन्ततः नेपाल फर्किए ।

के गर्दैछन् नेपालमा राम
खान र लाउनकै दुःखले घर छाडेका रामले अहिले झापाको बिर्तामोडमा एक करोड रुपैयाँभन्दा बढीको लागतमा वडी ग्यारेज सञ्चालन गरिरहेका छन् । जहाँ दिनहुँ चार सय जना भन्दा बढीले शारीरिक व्यायाम गर्ने गरेका छन् । वडी विल्डिङमा श्रीमतीको सँधै साथ पाएका रामलाई वडी ग्यारेजमा समेत श्रीमती शारदाले साथ दिएकी छिन् । बिहान साढे ४ बजेदेखि बेलुका अवेरसम्म शारदा र राम वडी ग्यारेजमै व्यस्त रहन्छन् ।

सप्तरीका राम झापामा काम
सप्तरीमा जन्मिएका रामले कर्मथलो भने झापालाई बनाएका छन् । विकासका दृष्टिकोणले सप्तरीभन्दा विकसित मानिएको झापा र आफ्ना अधिकांश साथीहरु झापाकै भएका कारण रामले जन्मथलो सप्तरी छाडेर कर्मथलोका लागि झापालाई रोजेका छन् ।
छोरा रोनीलाई राम्रो शिक्षा दिँदै देशको असल नागरिक बनाउने सपना बोकेका रामले बिर्तामोडमै घर जग्जा जोडेर छोरालाई शिक्षादीक्षा दिँदै आएका छन् । उनले आफ्नो छोरा रोनीलाई बिर्तामोडमा रहेको ग्रीनफिल्ड स्कूलमा अध्ययन गराउँदै आएको बताए । रोनी अहिले कक्षा ५मा अध्ययनरत् छन् ।

२५ वटा अण्डा र एक केजी मासु रामको खान्की
हेर्दै डरलाग्दो शरीर छ– रामको । डर नलागोस् पनि कसरी । ठूल्ठूला पाखुरा, छिनेको कम्मर अनि कम्मरझैं तिघ्रा छन् उनका । यस्तो शरीर कसरी भयो जिज्ञासा लाग्नु स्वभाविक नै हो । उनी खानामा विशेष ध्यान दिन्छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर उत्कृष्ट बनेका राम दिनहुँ २५ वटा अण्डा, एक केजी मासु र २ सय ग्राम मात्र अन्न खान्छन् । बिहान ४ बजे उठेका उनले ९ वजे १० वटा अण्डा, १२ वजे २ सय ग्राम खाना र १० वटा अण्डा सेवन गर्छन् भने साँझ ६ बजे आधाकेजी कुखुराको वोयल मासु अनि सुत्ने बेलामा आधाकेजी मासु हरियो सागपात र ५ वटा अण्डा सेवन गर्दै सुत्ने गरेको बताए । अण्डा, मासु र हरियो साग वोयल गर्दै विना मसला र विना तेल सेवन गर्ने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर