काठमाडौं ।
अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलरहरुको भत्ता बढाउने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा र त्यसको तयारीमा रहँदा फुटबल खेलाडीले पाउँदै आएको भत्तामा वृद्धि गर्ने तयारी एन्फाले गरेको हो । एन्फाले हालै मस्यौदा गरिएको आर्थिक नियमावलीमै समेटेर खेलाडीले पाउने भत्तामा वृद्धि गर्न लागेको हो। जसअनुसार फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्दा तथा सहभागी हुँदा यस अघि प्रतिदिन पाइरहेको २० डलरको भत्तालाई बढाएर ३० डलर पुर्याइने प्रस्ताव गरिएको छ।
यस्तै उनीहरुले पाउँदै आएको तलवमा समेत सो अवधिका लागि भने ५० प्रतिशत रकम वृद्धि गरिने भएको छ। एन्फाले हाल पुरुष फुटबलरलाई मासिक १५ हजार र महिला फुटबलरलाई सात हजार तलव दिँदै आइरहेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका दौरान बन्द प्रशिक्षणमा रहँदा पुरुष खेलाडीले अब २२ हजार पाँच सय र महिला फुटबलरले १० हजार पाँच सय तलव पाउने छन्।
यस्तै सोही अवधिमा उनीहरुले दैनिक प्राप्त गर्ने भत्ता पनि २० डलरबाट बढेर ३० डलर पुग्ने छ। यद्यपी यो व्यवस्था लागू हुनका लागि साउन ३० गते चितवनमा हुने तय भएको एन्फाको साधारणसभाले आर्थिक नियमावलीमा समावेश गरिएको यो व्यवस्थालाई पारित गर्नुपर्ने हुन्छ।