Aamsanchar

टमाटर कृषकको समस्या बुझ्न मन्त्रालयको टोली पाँचथरमा

Author Image
शनिवार, साउन १९, २०७५

पाँचथर।

लामो समयदेखि टमाटर भारत निकासी नभएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकामा उत्पापदन भएको टमाटरको समस्या हल गर्न मन्त्रालयको टोली प्रभावित क्षेत्रमै पुगेको छ ।

नेपाल सरकारको व्यापार तथा निकास प्रवद्र्धन केन्द्रको उपनिर्देशक सिद्धिचरण दाहाल नेतृत्वको टोलीले प्रभावित क्षेत्रमै पुगेर वास्तविक समस्या बुझेको हो । कृषकहरुले टमाटर बिक्री नभएको भन्दै सडकमा फालेपछि मन्त्रालयको टोली पाँचथर आइपुगेको हो । टमाटर कृषकहरुले चाँडोभन्दा चाँडो समस्या समाधानका लागि आग्रह समेत गरेका छन् ।

यसअघि भारत निकासीमा सूचीमा नभएको भन्दै टमाटर बिक्री भएको थिएन । बिक्री नभएपछि कृषकले लाखौं मूल्य बराबरको टमाटर बाटो मै फालेर विरोध जनाएका थिए ।

यसैबीच केन्द्रका उपनिर्देशक दाहालले टमाटर भारत निकासीमा कुनै समस्या नभएको बताएका छन् । दाहालका अनुसार टमाटरको समस्या नेपालमै भएको तर भारतबाट कुनै पनि समस्या नभएको जानकारी दिए । करोडौंको टमाटर बारीमै कुहिन थालेको समाचार सञ्चारमाध्यममा आएपछि पाँचथर उद्योग वाणिज्य संघले पहल थालेको थियो । अघिल्लो वर्ष ११ करोड २५ लाख संकलन गरेको टमाटरले यस वर्ष यो सिजनसम्म करिब १ करोड ४५ लाख मात्रै संकलन गरेको छ ।

यो अवधिमा करिब ९ करोड ३५ लाख रुपैयाँ घाटा भइसकेको कृषक महासंघ पाँचथरले जनाएको छ । मन्त्रालयको टोली नै कृषकको बारीमा पुगेपछि आफूहरुको समस्या समाधान हुने कृषकहरुले आशा गरेका छन् ।

Views: 208

प्रतिक्रिया (०)