Aamsanchar

मदिरा बिक्री वा सेवन गरे पाँच सय जरिवाना

Author Image
आइतवार, साउन २०, २०७५

पर्वत, 

फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो ।

अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहादुर सुनारको ज्यान गएको र एक महिला गम्भीर घाइते भएपछि वडाध्यक्ष अर्जुनबहादुर कार्कीको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो ।

घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरुमा बिक्री वा सेवनमा रोक लगाउनाका लागि स्थानीय महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासमेत एकजुट हुन थालेका छन् । मदिरा उत्पादन तथा बिक्रीबाट समाजमा एक–दुई वटा परिवारको आर्थिक अवस्थामा सुधार आएपनि सिङ्गो समाजलाई नै नकारात्मक असर गरेकाले मदिरा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष अर्जुनबहादुुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा बिहान ५ देखि बेलुका ५ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । उक्त समयमा कुनै व्यवसायीले मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा रु ५०० जरिवाना गरिने र उक्त निर्णयलाई अटेर गर्दै दोस्रो–तेस्रो यस्ता कार्य गरे थप कारबाहीका लागि पहल गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सिङ्गो वडाका सबै बस्तीमा एकै पटक मदिरा नियन्त्रणका लागि विभिन्न टोलमा रहेका महिला समूह, आमा समूह, भजन समूह, नागरिक समाज र युवा क्लबलाई निगरानीका लागि जिम्मेवारी तोकिएको छ । उक्त कार्यका लागि स्थानीय प्रहरीसँग पनि सहकार्य गरिएको स्थानीयवासी रामचन्द्र भुसालले जानकारी दिनुभयो ।

छिमेकी नगरपालिकाले घरेलु मदिरालाई दर्ता गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आह्वान गरिरहेका बेला फलेवास–३ शंकरपोखरीमा भने नियन्त्रण अभियान थालिएको हो । यसले स्वच्छ र सभ्य समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

Views: 147

प्रतिक्रिया (०)