काठमाडौं।

राजधानीको काँडाघारीबाट आइतबार राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्या गरिएको छ । उनको शव भक्तपुरको एक घरबाट बरामद भएको छ । प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

उता निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग अपहरणकारीको मुठभेड हुँदा २ अपहरणकारी मारिएका छन् । उनीहरु मारिएको स्थानबाट एउटा पेस्तोल, २ राउण्ड गोली र निशानका परिवारसँग फिरौती माग्न प्रयोग गरिएको मोवाइल बरामद भएको छ ।
प्रहरी इन्काउण्टरमा मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा मृत्यु हुने तामाङद्वय नै अपहरणकारी भएको प्रहरीले दावी गरेको छ ।

बालकको खोजीमा लागेको महाशाखाको टोलीमाथि अपहरणकारीले आक्रमण गरेपछि भएको जवाफी कारबाहीमा दुई जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
अपहरणकारीले बालकलाई लामो समयसम्म मुखमा टेप लगाएर राखेको र टेपका कारण बालक निसास्सिएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुमान छ। सूर्यबिनायकदेखि नजिकै एउटा निर्माणाधीन घरमा उक्त घटना भएको हो।-डिसी नेपाल

