Aamsanchar

पुनः निर्माणका काम पूर्ववत् गर्न प्राधिकरणको निर्देशन

Author Image
मङ्गलवार, साउन २२, २०७५

काठमाडौँ, 

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् जारी राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी पहिलो किस्ता रु ५० हजार लिएका लाभग्राहीलाई २०७४ असारसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो । प्राविधिक, निर्माण सामग्रीको अभावलगायत कारणले दोस्रो किस्ता लिन नसक्ने सङ्ख्या अझै तीन लाखभन्दा बढी छ ।

मंगलबारसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्कअनुसार दोस्रो किस्ताका लागि चार लाख ९३ हजार २०० लाभग्राही प्रमाणीकरण भएका छन् । प्रमाणीकरण भएपछि पीडितले अनुदान पाउन समय लाग्ने भएकाले म्याद थप्ने तयारी गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।

लाभग्राही सूचीमा आठ लाख सात हजार ४८६ परिवार सूचीकृत छन् । असार तेस्रो साता नै दोस्रो किस्ता वितरण गर्ने समय थपका लागि निर्देशक समितिको बैठक डाकिएको थियो । असार २० गतेको मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त हुनुभएपछि बैठक स्थगित भयो ।

एक महिनादेखि प्रमुख कार्यकारी अधिकृत नहुँदा नीति निर्धारणका काम हुन नसके पनि नियमित कामका लागि कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा कार्यकारी समितिको बैठकले नियमित रुपमा आइपर्ने पुनः निर्माणका समस्या समाधान गर्ने कार्यविधि छ ।

भूकम्प प्रभावित ३२ वटै जिल्लाका जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र भवनलाई काम नियमित गर्न पत्राचार गरिएको सहप्रवक्ता घिमिरेले बताउनुभयो । प्रभावित जिल्लाका सबै स्थानीय तहलाई पनि अनुदान सिफारिशलगायत पुनः निर्माणका काम पूर्ववत् गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

Views: 171

प्रतिक्रिया (०)