Aamsanchar

सामुदायिक वनबाट ६० हजार रोजगारी

Author Image
बिहिवार, साउन २४, २०७५

काठमाडौँ, 

मुलुकको वातावरणीय, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको सामुदायिक वनबाट ६० हजारभन्दा बढी रोजगारी सिर्जना भएको वन विभागले जनाएको छ ।

सामुदायिक वन दिवसका अवसरमा विभागले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले सामुदायिक वनका विभिन्न कार्यमा हेरालु र अन्य कर्मचारी गरी ६० देखि ७० हजार व्यक्ति प्रत्यक्षरुपमा संलग्न भएको बताउनुभयो ।

सामुदायिक वनबाट वर्षेनी करीब रु १० अर्ब आम्दानी हुने गरेको जानकारी गराउँदै उहाँले यसको उपयोगितामा भने केही चुनौती देखिएको उल्लेख गर्नुभयो । सामुदायिक वन विकासको अवधारणा नेपालको आफ्नै मौलिकता भएको बताउँदै महानिर्देशक डा लम्सालले यसबाट विश्वका धेरै मुलुकले अनुभव सिकेको जानकारी दिनुभयो ।

उपमहानिर्देशक राजेन्द्र केसीले सामुदायिक वनले मुलुकको वातावरण, आर्थिक, सामाजिक सशक्तीकरणलगायत क्षेत्रमा पु¥याएको योगदानका बारेमा अवगत गराउँदै विभागले यसबारेमा विवरणसहित स्पष्ट तथ्यांक राख्ने तयारी गरिरहेको बताउनुभयो ।

सामुदायिक वन महाशाखाका उपमहानिर्देशक अनुप शर्माले सामुदायिक वनले विभिन्न उपयोगितासँगै काठ दाउराका रुपमा ऊर्जा र घाँसपातका रुपमा कृषि क्षेत्रमा ठूलो योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभयो ।

मुलुकमा हालसम्म २२ हजार २६६ सामुदायिक वन छन् । जसमा २९ लाख सात हजार ८७१ घरधुरी संख्या सहभागी छन् । सिन्धुपाल्चोकको ठोकर्पाको वनबाट विसं २०३० देखि सामुदायिक वनको अवधारणा शुरु भएको हो ।

“सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान” भन्ने नारासहित यस वर्ष विभिन्न कार्यक्रमका साथ सामुदायिक वन राष्ट्रिय दिवस आजदेखि तीन दिनसम्म मनाइँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)