सुरुङ्गा।

शिक्षकको गरिमालाई माथि उठाउन महत्वपूर्ण खेलेकोमा मेची–महाकाली पैदलयात्री शिक्षक प्रकाशचन्द्र पौड्याललाई सम्मान गरिएको छ ।

२९ दिनमा मेचीदेखि महाकालीसम्म पैदलयात्रा गर्ने शिवसताक्षी नगरपालिका–७ स्थित लालपानी माविका ५१ वर्षीय शिक्षक पौडयाललाई नेपाल शिक्षक महासंघ शिवसताक्षी नगर समितिले सम्मान गरेको हो । महासंघको नगर समितिद्वारा दुधे स्रोतकेन्द्रको सभाहलमा आयोजित शिवसताक्षीको शैक्षिक विकास सम्बन्धी एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रममा सम्मानपत्र र फूलमालाले उनलाई सम्मान गरिएको थियो ।
‘कर्मयोगी शिक्षकहरुको पहिचान, एकता, अधिकार र सम्मान; शैक्षिक जागरणका लागि मेची–महाकाली पैदल अभियान’ भन्ने नाराका साथ असार २३ देखि पूर्वीद्वार काकरभिट्टाबाट यात्रा शुरु गरी ४ हप्तामा कञ्चनपुरको गड्डाचौकीमा पुगी सफलतापूर्वक यात्रा सम्पन्न गरेकोमा महासंघले अभिनन्दन गरेको नेपाल शिक्षक महासंघका जिल्ला सह–उपाध्यक्ष छबिलाल दवाडीले बताए ।

नेपाल शिक्षक महासंघ झापा जिल्ला उपाध्यक्ष बद्री कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर शिक्षा अधिकारी तोयानाथ रेग्मी, दुधे स्रोतकेन्द्रका स्रोत व्यक्ति कृष्णप्रसाद भण्डारी, बालनिकुञ्ज माविका प्रअ भीमबहादुर लिम्बू, लालपानी माविका प्रअ बालकृष्ण प्रसाई, बालविकास शिक्षक समूहका नगर अध्यक्ष कमला बस्नेत, मोती मावि धरमपुरका प्रअ पुण्य गौतम, सूर्योदय आधारभूत विद्यालयका प्रअ जगत तुम्बापो, नेपाल शिक्षक महासंघका संघीय प्रतिनिधि श्रीप्रसाद खरेल, नेपाल शिक्षक संघका विष्णु सुब्बा, नेपाल राष्ट्रिय शिक्षक संगठनका जयनारायण अधिकारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका विष्णु भट्टराई, नगर शिक्षा समितिका सदस्य तथा झिलझिले माविका प्रअ दीपक न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
महासंघका नगर उपाध्यक्ष लालमणि सुबेदीको स्वागत मन्तव्य र नेपाल शिक्षक महासंघ शिवसताक्षी नगर अध्यक्ष बेनुप्रसाद कार्कीको अध्यक्षता रहेको कार्यक्रम नगर सचिव गोविन्द काफ्लेले सञ्चालन गरेका थिए ।

