Aamsanchar

सनातन विद्वत परिषद् स्थापना

Author Image
आइतवार, साउन २७, २०७५

काठमाडौँ। 

शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि आधिकारिक रूपमा शास्त्रीय ब्याख्या गर्न सनातन विद्वत परिषद् नेपालको स्थापना गरिएको छ । परिषद्मा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन, धर्मशास्त्र, ज्योतिष, तन्त्र, कर्मकाण्ड आदि विषयका विज्ञ हुनुहुन्छ ।

मृत्यु संस्कारका बारेमा फैलाइएका भ्रम निवारण गर्न परिषद्ले ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ नामक पुस्तक प्रकाशन गरेको छ । अन्त्येष्टि संस्कारका बारेमा शास्त्रले उल्लेख गरेका विषय समेटिएको पुस्तक शनिबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले विमोचन गर्नुभयो ।

कार्यक्रममा उहाँले अन्त्येष्टि संस्कारका बारेमा भ्रम फैलाउने समूह शास्त्रार्थ गर्न तयार हुनुपर्ने बताउनुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले हिमवत् खण्डमा विकास भएको संस्कृति र संस्कार समाप्त गर्ने उद्देश्यले अन्त्येष्टिका बारेमा भ्रम फैलाएको बताउनुभयो ।

तीन, पाँच वा सात दिनमा अन्त्येष्टि संस्कार गर्नेलाई सामाजिक बहिष्कारको अभियान शुरु गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा विद्यानाथ भट्टले सनातन धर्मावलम्वीका १६ संस्कारमध्ये लोप भएर पाँच मात्र सीमित भएका बेला त्यसलाई पनि लोप गराउने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा परिषद्का अध्यक्ष आचार्य पूर्णचन्द्र ढुंगेल, प्राडा दीर्घराज घिमिरे, प्राडा ऋषिराम पोखरेल, प्राडा देवमणि भट्टराई, सहप्राडा माधवप्रसाद पाण्डेयलगायतले शास्त्रविरुद्ध भ्रम फैलाउनेलाई सार्वजनिक रूपमा शास्त्रार्थ गर्न आह्वान गर्नुभयो ।

शास्त्रीय विषयका २१ जना विद्वानको लेख समेटिएको पुस्तकमा १११ पृष्ठ छ । पुस्तक प्रकाशनका लागि जगतगुरु नेपाल सञ्चार केन्द्रले सहयोग गरेको हो ।

Views: 274

प्रतिक्रिया (०)