दमक।

झापाको भद्रपुरमा नेपाल बाल संगठन (बालमन्दिर) ले आफ्नो बिद्यालय चलाइरहेको बताए पनि यो नभएको पाइएको छ । बालमन्दिरको नाममा ८ बिगाह जमिन रहेको छ । नेपाल बाल संगठन (बालमन्दिर) सञ्चालक समितिका पदाधिकारी र कतिपय सदस्यहरुले बाल मन्दिर जीवितै रहेको बताए पनि त्यो नरहेको र प्रारम्भिक बालविकास केन्द्रलाई नै बालमन्दिर भनेर झुक्याउने गरिएको बताइन्छ ।

२०२९ सालदेखि जिल्लामा बालमन्दिर सञ्चालमा रहेको र ३ सय जनासम्म बिद्यार्थीहरु रहेको भएपनि करिब एक दशकयता भने नेपाल बाल संगठन (बालमन्दिर)को अस्तित्व नै समाप्त भएको बताइएको छ । स्थानीय श्रोतकेन्द्रमार्फत यहाँ प्रारम्भिक बालबिकास केन्द्र सञ्चालनमा रहेको र नेपाल बाल संगठनले यसैलाई आफ्नो बालमन्दिर भएको दाबी गर्दै आएको भेटिएको छ ।

भद्रपुरको मेची क्याम्पस र मेची अञ्चल अस्पतालको नजिक एक बिगाह, शरणामतीमा दुई वटा कित्ता गरेर ७ बिगाह जग्गा पनि भेटिएको छ । नेपाल बाल संगठन लि. सोसाइटीको नाममा जग्गा दर्ता देखिन्छ । बालमन्दिरको भवनमा २०६५ सालदेखि स्थानीय श्रोत केन्द्रमार्फत प्रारम्भिक बाल शिक्षाको रुपमा पठनपाठन हुँदै आएको र यहाँ कार्यरत शिक्षिकाहरुले पारिश्रमिक समेत यसै अन्तर्गत पाउने गरेको पाईएपछि पुरानो बालमन्दिर बन्द भएको रहस्य खुलेको हो ।

पृथ्वी आधारभूत विद्यालयले मातृत्व दिएर यहाँ आधारभूत बालविकास केन्द्र सञ्चालनमा रहेको भेटिएको छ । बालबिकास केन्द्र सञ्चालन भएको भवन भने बालमन्दिर कै आफ्नै हो । अहिले यहाँ ३५ जना विद्यार्थीहरु रहेको केन्द्रकी प्रधानाध्यापक हिरा भूर्तेलले बताइन् । भूर्तेलले दोहोरो तलव बुझ्दै आएको समेत खुलासा भएको छ । भूर्तेलले श्रोतकेन्द्रबाट र नेपाल बाल संगठन बालमन्दिर सञ्चालक समितिबाट तलव बुझ्दै आएको श्रोतको भनाइ छ ।
पञ्चायतकालीन समयमा असाहय एवम् गरीबका छोराछोरीलाई निःशुल्क अध्यापन गराउनका लागि प्रत्येक जिल्लाका सदरमुकाममा यस प्रकारका बाल मन्दिरहरु सञ्चालनमा रहेका थिए । स्रोतव्यक्ति प्रेमबहादुर भूजेलले आफूहरुलाई नेपाल बाल संगठनले सञ्चालन गरेको बालमन्दिर यहाँ रहेको भन्ने जानकारी नभएको र थाह नपाएको बताए ।
आफूहरुले आफ्नै आधारभुत बालबिकास केन्द्रको रुपमा बुझेको जनाउँदै अब यस बिषयमा छानबिन गरिने बताए । यहाँ सञ्चालन भएको कक्षाहरु नेपाल बाल संगठन (बालमन्दिर) सँग सम्बन्धित नरहेको समेत उनले दाबी गरे । अहिले पनि यस बालमन्दिर भित्र पूर्वराजा, रानीसहित राजपरिवारका तस्वीरहरु राखिएको छ ।
झापाका जिल्ला शिक्षा समन्वय अधिकारी योगेन्द्र बरालले झापामा बाल संगठनले चलाएको कुनै पनि बिद्यालय नरहेको बताए । उनले शिक्षा कार्यालयबाट प्रक्रिया पुरा गरेर आधारभूत बालशिक्षा रहेको जनाउँदै त्यो अरुले दाबी गर्न नमिल्ने बताए । यहाँ तीन जना प्रारम्भिक बालशिक्षा पढाउने शिक्षकलाई तलब, खाजा खर्च र मसलन्द नियमानुसार स्थानीय श्रोतले उपलब्ध गराउँदै आएको आफूले बुझेको उनले बताए । बाल विकास केन्द्र र बालमन्दिर विद्यालय दुवैतिरबाट शिक्षकले पारिश्रमिक बुझ्दै आएको बिषय भने उनले अनबिज्ञता प्रकट गरे ।
अहिले पनि नेपाल बाल संगठन (बाल मन्दिर) झापामा सक्रिय रहेको जिल्ला सचिव रुद्र भूर्तेलले बताए । उनले आफूहरुले जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेर आधारभूत बाल शिक्षा सञ्चालन गरेको दाबी गरे । बाल संगठन सक्रिय रहेको जनाउँदै यस बिषयमा सरोकारवाला निकायहरुलाइ जानकारी भएको उनको भनाइ छ ।
सञ्चालन श्रोत केही नभएर आफूहरुले बाल मन्दिरलाई आधारभूत बालशिक्षाको रुपमा सञ्चालनका लागि आग्रह गरेबमोजिम सञ्चालनमा आएको भूर्तेलको भनाइ छ ।
संगठनको नाममा शरणामतीमा रहेको जग्गामा स्थानीयहरु बसेको र त्यो खाली गराउन समस्या भएको पनि भूर्तेलले बताए ।
लामो समयपछि यहाँबाट आफूहरुले ५४ हजार उठाउन सकेको र संगठनको नाममा बंैक खातामा ५ लाख बाहेक अन्य केही पनि नरहेको समेत भूर्तेलले जानकारी दिए ।

