


तीर्थराज खरेल

नेपालको कम्युनिष्ट आन्दोलन थोरै एकता, सहकार्य र समन्वयको बाटोबाट अघि बढेको र धेरै चाहिँ विग्रह, विघटन र विभाजनको श्रृंखलाको चरणबाट गुज्रिँदै आफ्नो सकारात्मक र नकारात्मक दुबै इतिहासको विरासतमा उभिएको छ ।

सामन्ती, पूँजीवादी र विदेशी हैकमका विरुद्धमा संगठित बनी मुक्ति र स्वतन्त्रताको अभिष्टसहित स्थापित नेपाल कम्युनिष्ट पटक–पटक विभाजनको दुःखलाग्दो चक्रबाट अघि बढेको कुरा घामजत्तिकै प्रष्ट छ । निरंकुश जहानियाँ राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल बैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।


नेकपाका संस्थापक नेता क.पुष्पलाल हुन् । अन्य संस्थापकहरूमा नारायणबिलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठलाई मानिन्छ । नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा हो ।


यसै पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिष्ट आन्दोलनको विकास भयो । ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ जिन्दावाद’ भन्ने उद्घोषका साथ नेकपाले जहानियाँ राणा शासनको विरुद्धमा अविराम संघर्षको उद्घोष ग¥यो ।
नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी गरियो । पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको भन्ने उद्घोषका साथ जारी गरिएको घोषणापत्रले लोक जनवादी नेपालको निर्माण गर्ने सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्बन ग¥यो ।
पहिलो घोषणापत्रमा भनिएको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतंक र भूmठो प्रचारले पनि विचलित पार्न सक्ने छैन । नेकपाद्वारा ऐतिहासिक घोषणा–पत्र जारी भएको एक वर्ष बित्दा नबित्दै नेपालमा ठूलो राजनीतिक उथल–पुथल देखा प¥यो र २००७ साल फाल्गुण ७ गते जहानिया राणा शासनको अन्त्य भयो ।
नेपालमा यतिबेला पुष्पलाल लगायतका नेकपाका संस्थापकहरुका भावना अनुरुप कम्यनिष्ट पार्टीहरु एकताबद्ध हुने क्रम बढेर गएको छ भने फलामले फलाम काट्छ भने झैं कम्युनिष्टहरुलाई कम्युनिष्टका विरुद्ध उभ्याउने ‘फुटाऊ र शासन गर’ को पुरानो अस्त्र प्रयोग गरिँदैछ । विद्यमान राज्यसत्तालाई बदलेर जनताको राज्यसत्ता स्थापना गर्ने दुबै नेकपाको लक्ष्य हो । एउटा नेकपाको नेतृत्व केपी ओली र प्रचण्डले गरिरहेका छन् भने अर्को नेकपाको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ ले गरिरहेका छन् ।
दुबै दलहरु नेकपाको ऐतिहासिक उद्घोष पूर्ण भएको छैन र अहिले पनि त्यो अत्यन्त जीवन्त र सामयिक छ । विभिन्न नाममा कम्युनिस्ट आन्दोलनभित्र देखा परेको अवसरवादले नेकपालाई उपरोक्त मान्यता अनुरूप अघि बढ्नमा व्यवधान खडा गरे पनि अन्ततोगत्वा अवसरवाद पराजित नै भएको छ र कम्युनिस्ट आन्दोलन अविराम रूपमा उक्त घोषणा अनुरूप अघि बढिरहेको छ ।
सहज र सकारात्मक अवस्था विद्यमान हुँदाहुँदै क्रान्ति भने कै हिंसा, रक्तपात र बन्दुक उठाउनु हो भन्ने मान्यताका आधारमा चन्द नेतृत्वको नेकपाले गलत बाटो अवलम्बन गरिरहेको ओली र प्रचण्ड नेतृत्वको आरोप छ । चन्द नेतृत्वको नेकपाले एकीकृत क्रान्ति आम विद्रोहहरुको मेरुदण्ड हो भन्ने विचारलाई अघि सारेको छ । उसले यो नेपालको सन्दर्भमा जातीय उत्पीडनविरुद्ध, वर्गीय उत्पीडनविरुद्ध, लैङ्गिक विभेदविरुद्ध जनताको विद्रोह हो भनेको छ ।
छुट्टाछुट्टै विद्रोहको संयोजन नै एकीकृत क्रान्तिको सार हो र नेपाली समाजमा रहेका विद्यमान अन्तरविरोधहरुको समाधान केवल वर्गसंघर्षले मात्रै समाधान गर्न सक्दछ र नेपालको सन्दर्भमा एकीकृत क्रान्ति नै वर्गसंघर्षको नयाँ मोडेल हो भन्ने विप्लवको ठम्याइ छ । यसरी विप्लव नेकपाले हतियारबद्ध संघर्षको वकालत गरेको छ र उसका गतिविधिहरु त्यही दिशामा परिलक्ष्यित पनि छन् ।
२०५२ सालमा नेकपा माओवादीले तत्कालिन चिनियाँ जनयुद्धको मोडेल अनुसार गाउँबाट शहर घेर्ने ग्रामीण वर्गसंघर्षको मोडेल अपनायो । आज हुबहु त्यो रणनीतिले मेल नखान सक्दछ भन्दै एकीकृत क्रान्तिको बाटो अख्तियार गरिएको छ, यो नेपाली जनताका लागि १०वर्षे जनयुद्धको पुनरावृत्ति जस्तो हुने र फेरि मुलुकले हत्या र हिंसाका श्रृंखलाबाट गुज्रनुपर्ने देखिन्छ । १७ हजार बढी नेपाल आमाका सर्वोत्तम सन्तानले बगाएको रगतको संस्थागत मार्ग नपक्डँदै अर्को तरङ्ग मुलुकमा शुरु भएको छ ।
पेरिस कम्युन, अक्टुबर क्रान्ति र चिनियाँ क्रान्ति नेपाली क्रान्तिका लागि अवश्य नै सन्दर्भका विषय हुनुपर्ने र माक्र्सवादको सृजनात्मक प्रयोग गर्दै कमभन्दा कम क्षतिमा समाजवादी राज्यव्यवस्था स्थापनाका लागि जग बसाल्नुपर्ने आजको आवश्यकता हो । क्रान्ति हतियारमा होइन, दिमागमा हुनुपर्छ, विचारमा हुनुपर्छ, तर शुरुमा नै हतियार उठाउनु नै क्रान्तिको पर्याय मान्ने हो भने नेपाली भूमिले फेरि पनि हिंसा र प्रतिहिंसाका उतारचढावहरु व्यहोर्नुपर्ने निश्चितै छ ।
मूल कुरा क्रान्ति भनेको समाज परिवर्तन हो, शोषण, अन्यायको अन्त्य हो, अनाचार, पापाचार र भ्रष्टाचारको अन्त्य हो । हरेकले काम पाउने र काम अनुसारको दाम पाउने व्यवस्था आजको माग हो । विगतका इतिहासलाई पल्टाएर हेर्ने हो भने क्रान्तिका लागि हिंसालाई नकार्न सकिँदैन । तर क्रान्तिको शुरुवात नै सशस्त्र संघर्षबाट हुने सोच ठीक होइन ।
पूँजीवादी ताकतहरुले नेपालको कम्युनिष्ट आन्दोलन, जसले ८० प्रतिशत नेपाली जनताको समर्थन प्राप्त गरेको छ, लाई भत्काउन सक्दैन, तर फलाम काट्नलाई अर्को फलाम नै चाहिन्छ भन्ने नेपाली उखानजस्तै सत्तासिन नेकपाका विरुद्धमा चन्द नेतृत्वको हातमा हतियार थमाउने प्रपञ्च जो हुँदैछ, यसले हिंसा र प्रतिहिंसाको पुनरावृत्ति हुने हो, क्रान्ति हुने होइन । राज्यसत्ता कब्जा गर्नु भनेको कम्युनिष्टहरुको तानाशाही व्यवस्था बनाउनु होइन, माक्र्सवादले लोकतन्त्र र स्वतन्त्रताको सबैभन्दा वकालत गरेको छ ।
माक्र्सवादको भाष्यमा परिवर्तन आवश्यक छ, यसको पुनव्र्याख्याबाट मात्र समाजवादी राज्यव्यवस्था स्थापनाका लागि मार्ग प्रशस्त हुन्छ । संसारमा कम्युनिष्टहरुले अहिलेसम्म तीन पटक सत्ता कब्जा गरेका छन् । पेरिस कम्युन, अक्टुबर क्रान्ति र चिनियाँ क्रान्ति, तर अहिले तीन वटै क्रान्ति असफल भएका छन् । यसको गम्भीर समीक्षा जरुरी छ । फलाम काट्न फलाम नै चाहिने नेपाली आहान चरितार्थ नभएमा नेपाली जनताको हितमा कम्युनिष्ट पार्टीको स्थापना हुनुको सार्थकता हुने थियो ।
tirthakharel2028@gmail.com