चौतारा।
पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ ।
करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले जनाएको छ ।
गत वर्ष नै तिम्बुमा चियाको नर्सरी स्थापना गरिएकामा यसवर्ष त्यहाँ उत्पदित ३१ हजार बिरुवा वडा नं १,२,४,६ र ७ का किसानलाई निःशुल्क वितरण गरिएको उक्त गाउँपालिकाको कृषि प्राविधिक रमा कार्कीले जानकारी दिनुभयो ।
चिया खेतीका लागि उक्त गाउँपालिकामा कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखाले गतवर्ष एक सातासम्म स्थलगत सम्भाव्यता अध्ययन गरेपछि समुद्री सतहबाट एक हजार मिटरदेखि दुईहजार मिटर उचाइसम्म चियाखेती सम्भव हुने बताएकाले यसवर्षबाट बिरुवा वितरण गरिएको प्राविधिक कार्कीले बताउनुभयो । पहाडी क्षेत्रमा रोपिने यो जातको चिया रोपेको तीन÷चार वर्षमै उत्पादन दिनथाल्छ ।
क्यामेनिया चाइनेनसीप वैज्ञानिक नाम रहेको अर्थोडक्स चिया अन्तर्गत तप्डा–७८ प्रजातिको यो चियाको एउटा बोटबाट एकदेखि डेड केजी हरियो पत्ता टिप्न सकिन्छ । झण्डै पाँच केजी हरियो पत्तालाई प्रशोधन गरेपछि एक केजी तयारी चिया बन्दछ । सो चिया हाल बजारमा प्रति केजी रु दुई हजारदेखि दुई हजार ५०० सम्मपर्दछ ।
एक रोपनी क्षेत्रमा सातसयदेखि आठसयसम्म बिरुवा रोप्न सकिन्छ । सात वडा रहेको सो गाउँपालिकामा वडा नं ३ साविक क्यूल गाविस र वडा नं ५ साविक महाङ्काल गाविसबाट भने हालसम्म बिरुवाको माग नभएको बताइएको छ ।
त्यहाँ रोपिएका चियाको बोटबाट धेरै उत्पादन भएमा त्यहाँनै सानो प्रशोधन केन्द्र सञ्चालन गरिने कार्यकक्रम रहेका प्राविधिक कार्कीले जानकारी दिनुभयो । स्याउको गुमेको पहिचान पुनः कायम राख्ने उद्देश्यले चारवर्ष अघि हेलम्बुका किसानले भने भारतबाट करीब ५०० स्याउका बिरुवा ल्याएका र टाँसिथाङ तथा चिङथानमा रोपिएका स्याउको बिरुवाबाट अहिले फल फल्न थालेकोे छ ।
जिल्लामा विभिन्न नगरपालिका र गाउँपालिकामा विगतका वर्ष देखि नै चियाखेती शुरु गरिएको छ, करीब दुई दशकअधि मेलम्ची नगरपालिका– १ भोटेचौरमा शुरु गरिएको चिया खेती आर्थोपार्जनका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुन थालेको छ । त्यसैको अनुकारण गरी अहिले हेलम्बुमा पनि चिया खेति विस्तार गरिएको छ ।
ह्योल्मो जातिको बाहुल्यता हेलम्बुमा ह्योल्मो भाषामा ‘हे’ को अर्थ आलु र ‘लावु’ को अर्थ मुला भन्ने बुझिन्छ । त्यहाँ आलु र मुला मात्र उत्पादन हुने भएकाले त्यहाँको नामसमेत ‘हेलाबु’ रहन गएको हो । कालान्तरमा उक्त शब्द अपभं्रस हुँदै हेलम्बु भन्न थालिएको स्थानीयवासीको भनाइ छ । हाल गाउपालिका– १ र २ कायम भएको साविक हेलम्बु गाविसमा धानबाहेक तल्लो भागमा सीमित रुपमा मकै र कोदोखेती हँुदै आएको छ ।
पर्याप्त अन्नबाली र धान हुँदै नहुने भएकाले विकल्पको रुपमा फलफूल तथा अन्य बालीलाई प्राथमिकता दिन थालिएको उक्त गाउँपालिकाले जनाएको छ । साविक हेलम्बु गाविसभरि चार÷पाँचवर्ष अघि अलैंँची खेती शुरु गरिएको थियो । आर्थिक वर्ष ०७२÷७३ मा करीब रु एक करोड मूल्यको अलैंँची बिक्री गरिएकामा २०७२ को भूकम्पपछि घटेर करीब रु ६० ÷७० लाखमा झरेको र अझै घट्ने क्रममा रहेको वडा नं १ का वडाध्यक्ष मिङमार लामाले बताउनुभयो ।
भूकम्पपछि कतिपय ठाउँमा पानीको मूल सुकेपछि थेरै ठाउँका बिरुवा मर्न थालेको छ । पातमा सेतो टिकाको थोप्लो देखा परेपछि धेरैजसो ठाउँमा बोट मर्दै गएको र औषधिको अभावमा रोग नियन्त्रण हुन नसकेपछि पुनः बिरुवा लगाउनु परेको बताइएको थियो .