Aamsanchar

एक अर्ब ३७ करोडमा महेन्द्र–रत्न मावि बन्ने भो नमूना विद्यालय

Author Image
मङ्गलवार, साउन २९, २०७५

बिर्तामोड।

चार तले ४८ कोठे सुविधा सम्पन्न भवन । प्रत्येक कोठामा अत्याधुनिक फर्निचर । कक्षा नर्सरीदेखि १२ सम्मै स्मार्ट क्लास । प्रत्येक कोठामा ३० जना मात्र बिद्यार्थी । विद्यालयमै स्वास्थ्यकर्मी । प्राथमिक र माध्यमिक तहमा छुट्टाछुट्टै विज्ञान प्रयोगशाला । विधागत रुपमै खेल शिक्षक, स्वीमिङ पुल, फराकिलो खेल मैदान ।

छात्रछात्राका लागि छुट्टाछुट्टै छात्रावास । छुट्टै प्रशासनिक भवन, सुविधायुक्त छात्रछात्रा शौचालय अनि दुई वटा चमेनागृह सहितको अडिटोरियम हल । बिर्तामोड नगरपालिकाभित्र यस्तै एक सामुदायिक विद्यालय तयार हुने भएको छ ।

विश्व वैक र नेपाल सरकार शिक्षा मन्त्रालयले महेन्द्र–रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउन प्रक्रिया अघि बढाएसँगै हर्कलाल मार्गमा एक अर्व ३७ करोड रुपैयाँको लागतमा ९ विगाह क्षेत्रफलमा सुविधा सम्पन्न विद्यालय निर्माण हुन लागेको हो ।

महेन्द्र–रत्नलाई नमूना विद्यालय बनाउन नेपाल सरकार शिक्षा मन्त्रालयबाट बिर्तामोड नगरपालिकालाई पहिलो किस्ता स्वरुप एक करोड ५० लाख रुपैयाँ प्राप्त भएको बिद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । उनले भने– ‘महेन्द्र–रत्नलाई नमूना विद्यालय बनाउने प्रपोजल पेश गरेका थियौं, स्वीकृत भएर आएछ भदौबाटै काम शुरु हुन्छ ।’

२०१४ सालमा स्थापना भएको महेन्द्र–रत्न मावि यस क्षेत्रकै पुरानो विद्यालय हो । स्थानीय दाताले निःशुल्क जग्गा उपलब्ध गराएपछि पठनपाठन सुचारु भएको यो विद्यालयमा स्थानीय शिक्षासेवी सिके प्रसाईं भरतबाबुले निजी खर्चमा पक्की कोठा बनाइदिएपछि औपचारिक रुपमा मान्यता पाएको थियो । अहिले यो विद्यालयमा एक हजार आठ सयभन्दा बढी बिद्यार्थीले अध्ययन गर्ने गरेका छन् ।

सरकारले महेन्द्र–रत्नलाई ‘नमूना विद्यालय’ बनाउन लगानी गरेसँगै विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीले ‘नमूना विद्यालय’ निर्माणको पहल शुरु गरेका हुन् । कक्षा नर्सरीबाटै १२सम्म अंग्रेजी माध्यममा समेत पठनपाठन हुँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको महेन्द्र–रत्न मावि ‘नमूना विद्यालय’बन्ने निश्चित भएसँगै बिर्तामोडबासीमा उत्साह थपिएको बिर्तामोड नगरप्रमुख धु्रवकुमार शिवाकोटीले बताए । उनले भने– ‘बिर्तामोडमा यो मोडलको विद्यालय बन्नु बिर्तामोडबासीका लागि मात्र होइन, झापाबासीकै लागि गर्वको कुरा हो ।’

महेन्द्र–रत्न मावि नमूना विद्यालय बन्ने भएसँगै व्यवस्थापन समिति र विद्यालय प्रशासनले सरोकारवालासँग सोमबार छलफल गर्दै जग्गा व्यवस्थापनको विषयमा निष्कर्षसहित भदौबाट नमूना विद्यालयको भवन निर्माण प्रारम्भ गर्ने प्रतिबद्धता जनाएको छ ।

पूर्वसांसद सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हर्कलाल मार्गमा रहेको विद्यालयको नौ विगाह जग्गामा नमूना विद्यालय तयार गरिने बताइएको छ । विद्यालयमा कवर्ड हल समेत निर्माण गरिने र गुणस्तरीय शिक्षामा कुनै कञ्जुस्याइँ नगर्ने विद्यालयका प्रधानाध्यापक लिम्बूले बताए ।

सो समारोहमा विद्यालयको जग्गा भोगचलन गर्दै आएका कृषकसँग समेत छलफलसहित निष्कर्ष निकालिएको थियो । विद्यालयका अभिभावक समेत सम्मिलित छलफलमा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, पूर्व सांसद डिल्ली सिटौला, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, अनारमनी गाविसका तत्कालीन उपाध्यक्ष लोकबन्धु कन्दङ्वा, नेकपा बिर्तामोड नगर प्रमुख ज्ञानुराम प्रसाईं, युवा नेता सीपी कडरिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति लक्ष्मी आचार्य, राप्रपाका शंकर रिजाल लगायतले बन्न लागेको नमूना विद्यालयले बिर्तामोडको गौरव बढाउने बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पर्शुराम शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नेत्र खरेलले गरेका थिए ।

किसान र विद्यालयबीच यसरी भयो सहमति

२०२८ सालदेखि विद्यालयको जग्गा भोगचलन गर्दै आएकाहरुलाई विद्यालयले प्रतिविगाह दुई कठ्ठा जग्गा प्रदान गर्ने भएपछि किसान राजी हुँदै विद्यालयको जग्गा खाली गर्न सहमत भएको बताइएको छ ।

यसअघि उनीहरुले विद्यालयको जग्गा कमाए वापत ठेक्का बुझाउँदै आएका थिए । कानून व्यवसायी टंक उप्रेतीको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति निर्माण गर्दै विद्यालयको जग्गा भोगचलन गर्ने कृषकलाई एकीकृत बस्ती निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने र विद्यालयको जग्गा संरक्षण गरेवापत प्रतिविगाह दुईकठ्ठा जग्गा उपलब्ध गराउने सहमति भएको सप्रअ भोजराज दाहालले बताए ।

समितिमा लोकबन्धु कन्दङ्वा ज्ञानुराम प्रसार्इं, शंकर रिजाल, चन्द्रप्रसाद कडरिया (सीपी), पुष्पलाल चौधरी, पुष्पा दाहाल, पर्शुराम सिटौला, अमृत बुढाथोकी र मनबहादुर लिम्बूसहित १० सदस्यीय समिति गठन गरिएको थियो । सो समितिले जग्गाको विषयमा टुंगो लगाउँदै किसानले भोगचलन गरिरहेको विद्यालयको जग्गा खाली गरेर सो जग्गामा भवन निर्माण गर्ने सम्झौता भएको छ ।

क–कसले कति जग्गा पाए ?

शहीद राम थापा मार्गलाई ४० फिटको बाटो कायम गरी पश्चिम कित्ता नं. १०२८ र ५४८ मध्येबाट मुकुन्द पौड्याललाई ६५.२५ धुर जमिन प्रदान गरिने भएको छ ।
त्यस्तै सुवास मेचेलाई ४० धुर, गमबहादुर थापालाई ४५ धुर, देवीचरण रेग्मीलाई १५ धुर, भवानी रेग्मीलाई ५५ धुर, होमराज मिश्रलाई १२.५ धुर गरी १६ वटा भिटाको २३२.७५ धुर जग्गा प्रदान गर्ने निर्णय भएको जग्गा व्यवस्थापन समिति संयोजक उप्रेतीले जानकारी दिए ।

खुशी छौं हामी २०२८ सालदेखि विद्यालयको जग्गामा बसोबास गर्दै आएका कृषकले आफ्नो ठाउँमा नमूना विद्यालय बन्न लागेकोप्रति खुशी व्यक्त गरेका छन् । उनीहरुले निर्माण हुन लागेको विद्यालयलाई शुभकामना दिँदै आफूहरुको व्यवस्थापनका लागि नगरपालिकाले पहल गर्न आग्रह गरे ।

२०४० सालदेखि विद्यालयको जग्गा भोगचलन गर्दैै आएका हरि तिम्सिनाले भने– ‘म मात्र होइन, महेन्द्र–रत्न नमूना विद्यालय बन्न लागेको खबर सुन्दा हामी सबै उत्साहित भएका छौं ।’ ‘हामीले भोगचलन गरेको जग्गा अहिलेसम्म एक इञ्च पनि तलमाथि गरेका छैनौं । अब हामीलाई व्यवस्थापनका लागि नगरले उचित व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण गरेर भए पनि राख्नुप¥यो’– तिम्सिनाले भने ।

फड्को मार्छ महेन्द्रले

सामाजिक, राजनीतिक, आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको महेन्द्र–रत्न मावि नमूना विद्यालय बनेसँगै यहाँको समग्र शिक्षा क्षेत्रले फड्को मार्ने बताइन्छ ।

अंग्रेजी र नेपाली माध्यममा पठन पाठन हुँदै आएको सो विद्यालयमा यस वर्षदेखि कक्षा ११ मा विज्ञानमा संकायमा पनि पठनपाठन शुरु भएको विद्यालयका सप्रअ केशव प्रसाईंले बताए । उनले भने – अब छिट्टै यो विद्यालयले शिक्षा क्षेत्रमा फड्को मार्छ ।

यस अघि पनि यो विद्यालय आफैंमा नमूना थियो, नमूना बनेसँगै यहाँको खस्कदो शैक्षिक स्तरलाई माथि उठाउँदै लक्षित समुदायका बालवालिकाको शैक्षिकस्तर माथि उठाउन मद्दत मिल्छ । हाल सो विद्यालयले आधुनिक प्रयोगशाला निर्माण सम्पन्न गरेको छ भने ई–लाइव्रेरीको सुविधा समेत प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)