Aamsanchar

वर्णशङ्कर बीउ रोज्दै किसान

Author Image
बिहिवार, साउन ३१, २०७५

ललितपुर,

वर्णशङ्कर जातको धानको बीउतर्फ किसान आकर्षित हुँदै गएका छन् । विदेशबाट आयात गरिएको वर्णशङ्कर बीउको प्रयोग बढिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतीत पराजुलीले बताउनुभयो ।

नेपालमा वर्णशङ्कर बीउको मूल्य प्रतिकिलो रु ५०० देखि रु ६०० सम्म पर्छ । उहाँ भन्नुहुन्छ, “बीउ महँगो भएपनि बढी उत्पादन पाउने आशमा किसानले वर्णशङ्कर बीउतर्फ आकर्षित हुने गरेका छन् ।” एक पटक किनेको उन्नत बीउ केही वर्षसम्म रोप्न मिल्ने भए पनि वर्णशङ्कर बीउ बर्षेनी किनेर रोप्नुपर्छ ।

मुलुकमा विभिन्न किसिमका बालीमा वर्णशङ्कर बीउको प्रयोग बढ्दै गएको छ । धानबालीमा यसको प्रयोग सबैभन्दा बढी भएको प्राविधिक पराजुलीले बताउनुभयो । जनकपुरस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले तराईका लागि वर्णशङ्कर धानको बीउ सिफारिश गरेको छ । “पहाडका लागि उन्नत बीउ सिफरिश गर्दै आएको नार्कले वर्णशङ्कर बीउ अहिलेसम्म सिफारिश गरेको छैन,” पराजुलीले भन्नुभयो ।

छिमेकी मुलुकबाट आयात गरिएका वर्णशङ्कर बीउमध्ये कतिपय यहाँको हावापानी सुहाउँदो नहुने प्राविधिक पराजुली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै उत्पादन लिनका लागि लगाउने गरिएको वर्णशङ्कर कतिपय वर्ष न्यून उत्पादन भएको छ ।” मुलुकमा धान बालीमा वर्णशङ्कर र उन्नत बीउको प्रयोग बढ्दै जाँदा स्थानीय बीउ भने हराउँदै गएका छन् ।

Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर