Aamsanchar

मकै नबिक्दा कृषक समस्यामा

Author Image
शुक्रवार, भदौ १, २०७५

दमक।

झापाको गौरादह नगरपालिका वडा नं। ५ महारानीझोडामा देशकै नमूना मानिएको ‘एकीकृत नमूना सहकारी खेती’मा उत्पादन भएको मकै नबिक्दा कुहिने अवस्थामा पुगेको छ ।

किसानहरुले मकै खेती गर्न छाड्दै गएपछि उत्साहित भएर गरिएको खेतीले उत्पादन राम्रो दिए पनि बिक्री नहँुदा लाखौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको पाइएको हो । महारानीझोडा साना किसान महिला सहकारी संस्थाले सञ्चालन गरेको ‘एकीकृत नमूना सहकारी खेती’का अध्यक्ष बेदनिधि चापागाँईका अनुसार करिब २० बिगाह जमिनमा बिभिन्न जातका मकै लगाइएको थियो ।

चक्लाबन्दी गरिएको एक सय बिगाह जग्गा मध्ये २० बिगाहमा मकै लगाइएको र उत्पादन समेत राम्रो भएता पनि नबिक्दा अहिले कुहिन थालेको उनले बताए । केही गाईहरुलाई खोले ख्वाउनका लागि प्रयोग गरेका छौं, धेरै गोदाममा नै कुहिन थालेको छ– चापागाँईले भने– यस बर्ष दुई हजार मन मकै उत्पादन भएको छ ।

अघिल्लो बर्ष एक हजार तीन सय मन उत्पादन भएकोमा यो बर्ष बढेर दुई हजार मन भए पनि अहिले नबिकेर घाटा व्यहोर्नुपर्ने अवस्था आएको चापागाँईको भनाइ छ । एक बिगाह जमिनमा मकै रोपेर थन्क्याउँदासम्ममा ४५ हजारको हाराहारीमा खर्च हुने र करिब नौ लाख रुपैयाँ खर्च भएको उनले बताए । यो बिक्री भएको भए बजार मूल्य अनुसार करिब १३ देखि १४ लाख रुपैयाँको मकै हो– चापागाँईले भने ।

संस्थाका लेखा सदस्य हेमनाथ घिमिरेका अनुसार मकैमा पानीको पन बढी भएपछि मकै नबिकेको हो । मकैलाई सुख्खा बनाएर बिक्री गर्नका लागि मकै सुकाउने ‘ड्रायर’ नहँुदा कुहिने अवस्था आएको उनले बताए । मकैमा १५ प्रतिशतभन्दा कम चिसोपन हुनुपर्नेमा आफूहरुले मकै सुकाउँदा र राख्दा २० प्रतिशतको हाराहारीमा रहँदा उद्योगहरुले लिन नमानेको उनले बताए ।

भारतबाट सुख्खा मकै भित्रिने भएकाले उद्योगहरुले आफूहरुको मकै नलिएको व्यवस्थापक अर्जुन खतिवडाले बताए । मकै लिइदिन आग्रह गर्दै आफूहरु पूर्वका अधिकांश दाना बनाउने मिलमा पुगेको भए पनि कसैले लिन नमानेको उनले जानकारी दिए । आफूहरुले बारम्बार रुपमा मकै सुकाउनका लागि आवश्यक ‘ड्रायर’ मेसिन उपलब्ध गराउन तथा त्यसको ब्यवस्था गर्नका लागि सरोकारवाला निकायहरुसंग आग्रह गर्दै आएको नमूना सहकारी खेतीका सञ्चालकहरुले बताएका छन् ।

स्थानीय किसानहरुबाट एक बिगाह जमिन बार्षिक ३२ मन धानमा लिज लिएर १० बिगाहको दरले जग्गा चक्लाबन्दी गरेर एक सय बिगाह जमिनमा यहाँ नमूना सहकारी खेती गरिँदै आएको छ । यसै अन्तर्गत गौरादहकै अर्को ठाउँमा समेत ५० बिगाह जमिनमा पनि यसरी नै खेती हुन्छ । किसान र हामी उत्साहित भएर लागेका छौं तर यस प्रकारका समस्याहरुले गर्दा निक्कै कठिन अवस्था समेत झेल्दैछौ– अध्यक्ष चापागाँईले भने ।

Views: 197

प्रतिक्रिया (०)