Aamsanchar

पहिरोले खोसियो सहारा

Author Image
शनिवार, भदौ २, २०७५

बागलुङ,

अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो ।

बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उहाँको न साथ रह्यो, नत बास नै ।

शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ जानुभएको थियो । घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए । भाग्यले विनोद भने बाँच्न सफल भएका छन् । गोठबाट घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै ।

श्रीमती र बुहारीको वियोगले छट्पटाइरहनुभएका शाहीका आँखा अझै ओभाएका छैनन् । घर, भएको जायजेथा र अन्नपातसमेत पहिरोमा परेपछि शाहीको उठिबास भएको छ । माइलो भाइ खड्कबहादुरको घरमा मृतकका काजकिरीया भइरहेको छ ।

Views: 175

प्रतिक्रिया (०)