पोखरा ।
कास्की र आसपासका पहाडी जिल्लामा कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको छ ।
कोदो खेती विशेषतः पहाडी क्षेत्रमा हुन्छ । पछिल्ला वर्षमा सर्वसाधारण बेँसी तर्फ झर्ने क्रम बढेकाले ती क्षेत्रका अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत प्रकाश वस्ताकोटीका अनुसार पहाडी क्षेत्रमा जमीन बाँझो रहन जाँदा कोदो उत्पादनमा हस आएको हो ।
विगतमा जिल्लाका अधिकांश पहाडी भू–भागमा कोदो खेती हुने गरेकोमा खेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको उहाँले जानकारी दिनुभयो । कास्कीमा कोदोको उत्पादकत्व प्रति हेक्टर १.२ मेट्रिक टन छ । अघिल्लो वर्ष १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन भएकोमा यसवर्ष घटेर १५ हजार मेट्रिक टन पुग्ने अनुमान छ । बढ्दो बसाइँसराइसँगै पहाडी बस्ती सुनसान बन्दै गएपछि कोदोको उत्पादन वर्षेनी घटिरहेको बस्ताकोटीको भनाइ छ ।
कास्कीसहित आसपासका स्याङजा, तनहँु, लमजुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा कोदो उत्पादन राम्रो हुने भए पनि यहाँका अधिकांश स्थानमा उत्पादन घट्दो छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजातिसमेत क्रमशः लोपोन्मुख बनेका छन् ।
विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्ले जस्ता विभिन्न प्रजाति पाइन्थ्यो । अहिले ती प्रजाति लोप हुँदै गएका छन् । कोदोको विकल्पमा कृषकले घैँया प्रजाति र पाखे धान लगाउने क्रम बढ्दैछ ।
भरतपोखरी, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, माझठानालगायतका ठाउँमा पाखे धान लगाउने क्रम बढेकाले कोदो खेती विस्थापित बन्दै गएको स्थानीय कृषक हरिशरण लामिछाने बताउनुहुन्छ । अन्यखेती भन्दा कोदो खेतीमा श्रम पनि बढी लाग्छ । पौष्टिक अन्न मध्येको कोदो रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउन प्रयोग गरिन्छ । यसबाट घरेलु मदिरा बनाउने गरिन्छ ।
कोदो उत्पादनमा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले लि बर्डको सक्रियतामा कोदोका परिकार बनाउन स्थानीयस्तरमा विभिन्न तालीम प्रदान गरिएको छ । लि बर्डका कार्यक्रम निर्देशक भरत भण्डारीका अनुसार सो संस्थाले कोदोको गुणस्तरीय बीउ उत्पादन गर्न हुम्ला, जुम्ला, लमजुङ र दोलखामा स्थानीय बाली परियोजना अन्तर्गत अनुसन्धानको काम गरिरहेको छ ।
कास्की र आसपासका जिल्लामा डल्ले र झ्यापे दुई जातका कोदो उत्पादन हुने गरेको छ । ती अन्तर्गत दूधे, ज्वाइँ, कालो जस्ता विभिन्न प्रजाति रहेको उहाँले बताउनुभयो । पाक्ने समयअनुसार पनि अगौटे, मध्यम र पछौटे गरी कोदोका तीन जात छन् । कोदो खेती प्रति बढ्दो अनिच्छाका साथै बसाइँसराइ लगायतका कारण कोदो खेतीमा कमी आएको र त्यससँगै रैथाने प्रजाति पनि लोपोन्मुख बनेको भण्डारीको भनाइ छ ।
मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार बहुृउपयोगी मानिन्छ । कोदोका परिकार बनाउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै घरवास सञ्चालन भएका स्थानमा आवश्यक तालीम प्रदान गर्नसके मध्य एवं उच्च पहाडी क्षेत्रमा यसको खेतीमा आकर्षण बढाउनसक्ने देखिन्छ ।