Aamsanchar

बंगुरपालनमा उदाहरणीय बन्दै सञ्जीव

Author Image
शनिवार, भदौ ९, २०७५

झापा ।

महेन्द्र राजमार्ग अन्तर्गत कमल गाउँपालिका वडा नं. ४ मा पर्ने चुलाचुली मोडबाट दुई किलोमिटर दक्षिण झरेपछि व्यवस्थित बंगुरपालन फार्म युवा उद्यमी सञ्जिवकुमार राईले सञ्चालन गरेको कुलुङ बंगुर फर्ममा पुगिन्छ ।

युवा जोस जाँगरले सञ्चालित व्यवसायिक बंगुर पालनका लागि गतिलो उदाहरण बनेका राईको साहस र हिम्मतले जो कोहीलाई मोहित पार्न सक्छ । अहिले व्यवसायिक बंगुरपालनको सोच बनाएका उद्यमीहरुका लागि एउटा प्रेरणाको स्रोत बनेको यस फर्ममा दैनिक जसो सरदर पाँचदेखि सात जनासम्म कृषकको आवागमन हुने गरेको छ ।

झापा जिल्ला साविक तोपगाछी गाविस वडा नं. ५ हाल कमल गाउँपालिका वडा नं. ४ मा जन्मिएका ४६ वर्षीय युवा उद्यमी सञ्जिवकुमार राई नेपालकै पूर्वीक्षेत्रका एक उदाहरणीय कृषि ब्यवसायी मानिन्छन् । शुरुवातको स्थिती अत्यन्तै नाजुक आर्थिक अवस्थाको सामना गरेका राई विगत केही वर्षयता ठूलो मेहनतका साथ सफल कृषक बन्न प्रयत्नशील छन् । पारिवारिक अवस्थाका कारण शुरुवातको समयमा दुःख पीडासँग रुमलिँदै आफ्नो कृषक पेसालाई निडररुपमा अगाडि बढाउनु भएका राई अथक प्रयासबाट आज समाज अनि राष्ट्रकै नमूना कृषकको रुपमा परिचित छन् ।

कुलुङ बंगुर फर्म नामक फर्मको विधिवत् रुपमा २०६१ सालबाट शरु भए पश्चात अलि फरक ढंगबाट बंगुरपालनको थालनी गरेका राई बंगुरपालनका क्षेत्रमा एक विशेषज्ञको रुपमा समेत परिचित छन् । करिब २६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो बंगुर फर्मभित्र हाँसपालन पनि रहेको छ । शुरुको लगानी रु. पाँच सय ५० रहेको यो बंगुर फर्मको हालको संरचना तथा यहाँ व्यवस्थितरुपमा पालिएका बंगुरको लागत आँकलन गर्न समेत निक्कै मुस्किल पर्ने देखिन्छ । यस फर्ममा रहेका बंगुरका जातहरुमा हेम्पसायर, ल्यान्द्रइज, योर्कसायर, ड्युरो लगायतका रहेका छन् । करिब चार करोड लगानी भइसकेको यो कुलुङ बंगुर फर्मभित्र बंगुरको हर्रा जातबाट क्रस गरिएको भनिएको बंदेलको समेत पालन गरिएको छ ।

राज्यले डेढ लाखभन्दा बढीको संख्यामा रहेका साना तथा घरेलु उद्योगहरूलाई पनि पाँच प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था गर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा एउटा औद्योगिक ग्रामको स्थापना गर्ने, साना तथा घरेलु उद्योगहरूलाई नयाँ प्रविधियुक्त बनाउन सहयोग गर्दै काउन्सिलिङको व्यवस्था गर्नसके यस्तो व्यवसायले पनि राहत पाउने कुलुङ बंगुर फर्मका सञ्चालक राई बताउँछन् ।

औद्योगिक उत्पादन बढाउने, निर्यात बढाउने र रोजगारी बढाउने क्षमता भएका साना, मझौला तथा घरेलु उद्योगहरूलाई राज्यले स्तरीकरण गरेर सहयोग गर्न जरुरी रहेको उनी बताउँछन् । कृषि उपज तथा पशुपालनका क्षेत्रमा प्रविधिको विकास भएसँगै कृतिम गर्भाधानको पनि विकास भइरहेको छ कुलुङ बंगुर फर्ममा । त्यहाँ बंगुरको नश्ल सुधार तथा गुणस्तरीय पाठापाठी उत्पादनका लागि एआई प्रविधि अर्थात् कृतिम गर्भाधान गराउने ल्यावको नेपालको पूर्वी क्षेत्रमा पहिलो पटक विकास गरी प्रविधिको क्षेत्रमा समेत निक्कै फड्को मारिरहेकोे छ ।

गाउँ–गाउँमा प्रविधियुक्त तवरले सञ्चालन गरेका कृषि फर्महरुको सबै क्षेत्रमा सफलता हात नपरिरहेको अवस्थामा यो बंगुर फर्म बंगुरपालक किसान तथा पाल्न चाहने किसानका लागि एउटा अध्ययन केन्द्रको रुपमा लिन सकिने सम्भावना प्रचुर रहेको छ । कृतिम गर्भाधान (ए.आइ प्रविधि) यस फर्ममा भित्रिएसँगै फर्मबाट सेवा पुग्ने ठाउँका सम्पूर्ण किसानलाई अब भाले बंगुर पाल्नुपर्ने झन्झट व्यहोर्ने समस्या पनि निराकरण भएको छ । नेपाल अधिराज्यभर यहाँ उत्पादन भएका पाठापाठी निर्यात हुने हँुदा राज्यमा नश्ल सुधार भएका तथा उन्नत जातका बंगुरको सहजता समेत बनिरहेकोे छ ।

यस बंगुर फर्ममा सात जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यो फर्म अवलोकन गर्न आउने जो कोही यहाँको भौतिक संरचना देखेर आश्चर्यमा पर्छन् । यहाँ आधुनिक तवरले निर्माण गरिएका बंगुरका खोरहरु निक्कै आकर्षक छन् । कुलुङ बंगुर फर्ममा हाल माउ बंगुरलाई बढी प्राथमिकता दिइएको छ । जसले गर्दा देशमा गुणस्तरीय बंगुर उत्पादन तथा गुणस्तरीय पाठापाठी प्राप्त गर्ने स्रोत बनेको छ ।

हाल यस फर्ममा एक सय ३५ वटा उन्नत जातका बंगुर तथा क्रस विटका बंदेल समेत रहेका छन् । वर्षमा करिब एक हजार आठ सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म उन्नत पाठापाठी उत्पादन हुने गरेको कुलुङ बंगुर फर्ममा मासिक खर्च सात लाख ५० हजार रुपैयाँ रहने गरेको छ ।

शुरुवातको अवस्थामा कृषि विकास बैंक मार्फत सानोतिनो ऋण सहयोग पाए पनि फर्म विकसित हँुदै गएकाले कृषि विकास बैंकले गर्ने लगानीले नभ्याउने भएपछि अन्य निजी बैंक मार्फत कारोबार गर्नुपरेको राई बताउँछन् । पहिला कृषि विकास बैंकको सहयोग लिनको लागि ठूलो संघर्ष गर्नुपरेको बताउँने राई अहिले ऋण दिने बैंकको होडवाजी नै चलेको बताउँछन् ।

केही समय भारतले लगाएको नाकाबन्दीले प्रभावित बनेका राईको बंगुरपालन ब्यवसाय विगत पाँच वर्षदेखि उत्तिकै रफ्तारमा अगाडि बढेको छ । यसै सन्दर्भमा समय र परिस्थितिको गतिमा अगाडि बढ्नेक्रममा व्यवसायिक कृषि उद्यमी राई चाडै बंगुरको मासुका परिकारहरु प्याकेजिङ्ग गरेर बजारमा ल्याउने तयारीमा समेत जुटेका छन् ।
प्रस्तुति : केशवराज भण्डारी

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर