Aamsanchar

पुरुष भएर पनि महिलाको भेषमा किन भागे गोश्वामी ? कारण यस्तो छ

Author Image
शनिवार, भदौ ९, २०७५

सुरेन्द्र भण्डारी/ झापा ।

रातो साडी, गलामा पोते, सिउँदोमा सिन्दूर, ओठमा लिपिष्टिक अनि हातभरि चुरा, अर्थात् महिलाको भेषमा सजिएर प्रहरीको घेरा तोड्दै त्यो रात भागेका थिए– झापा चकचकीका दयानन्द गोस्वामी ।

प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको आन्दोलनका क्रममा उनीमाथि सुट वारेन्टको नोटिस जारी भएपछि उनको घर प्रहरीले घेरा हालेको थियो । २०४६ साल फागुन ६ गते राति १२ बजे गोस्वामीको घर प्रहरीले घेरा हालेपछि प्रहरीको घेरा बीचबाटै महिलाको भेषमा सजिएर भाग्दै उनले त्यो वेला ज्यान बचाएका थिए । निष्पट अँध्यारो, घरभरि प्रहरी ‘मार्नुभन्दा मर्नु बेस’ हिम्मत गरेर घरबाट निस्किएँ प्रहरीले पत्तै पाएन’ –गोश्वामीले भने– ‘रातारात हिँडेर शरणामति पुगेछु त्यहाँ सन्थालको घरमा शरण लिएँ ।’

प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको आन्दोलनमा नेतृत्व गरेका गोश्वामी अहिले पनि उत्तिकै सक्रिय छन् । चाहे राजनीतिक आन्दोलन होस् चाहे सामाजिक क्षेत्रमै किन नहोस् उनको सक्रियता अहिले पनि उत्तिकै छ ।

२०२८ सालबाट नेविसंघको नेतृत्व गर्दै राजनीतिक क्षेत्रमा प्रवेश गरेका उनी २०३६ सालमा बहुदल प्रचार–प्रसार समितिको सचिव भएर काम गरे । तर्क शास्त्रमा स्नातक गरेका गोश्वामी २०४६ सालको आन्दोलनका क्रममा प्रहरीसँगको मुठभेडमा प्रहरीलाई नै घाइते बनाएपछि उनी माथि सरकारले सुट वारेन्टको नोटिस जारी गरेको थियो । सुट वारेन्ट जारीपछि उनी केही समय गुप्तवास समेत वसे गोश्वामी ।

प्रजातन्त्र पुनस्थापना पछि २०४९ सालमा तत्कालीन चकचकी गाविसको पहिलो जननिर्वाचित अध्यक्ष बनेपछि उनी सामाजिक कार्यमा सक्रिय रहे । आदिवासी, जनजाति, पिछडिएको समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा उनले छोटो समयमा विकास निर्माणका धेरै काम गर्दै लोकप्रियता हासिल गरे । उनको त्यो लोकप्रियता अझैं कायम छ त्यस क्षेत्रमा ।

२०१३ साल असोजमा जन्मिएका उनले २०५३ सालमा नेपाल किसान संघ झापाको कोषाध्यक्षको जिम्वेवारी सम्हाल्दै किसान वर्गको हकहितका क्षेत्रमा काम गरे । किसानको समस्यालाई बुलन्द बनाएकै कारण उनी नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला सचिव भए । २०७० सालबाट उनी जिल्ला वन पैदावर आर्पूति समिति, २०७५ सालवाट जिल्ला वन समन्वय समिति सदस्य भए ।

सामाजिक क्षेत्रमा भिजेका कारण उनी नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको अहिले सभापति छन् । साहित्यप्रति पनि उनको झुकाव उस्तै छ । उनी कविता लेख्न रुचाउँछन् । पल्लवी नामव काव्य संग्रह प्रकाशनको तयारीमा छन् उनी । अहिले उनकै पहलमा रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन निर्माण भएको छ । स्थानीय समाजसेवी सूर्यप्रसाद गणेशको स्मृतिमा उनका दुई छोराले रेडक्रसका लागि भवन निर्माण गरिदिएका हुन् ।

साविक चकचकी–२का गणेशका छोराद्वय शान्तिप्रसाद र देवीप्रसाद गणेशले नेपाल रेडक्रस सोसाइटी बाह्रदशी उपशाखालाई २० लाख रुपैयाँभन्दा बढीको लागतमा भवन निर्माण गरिदिएको बताइएको छ । भवन निर्माणका लागि स्व. सूर्यप्रसादले साविक चकचकी–२ मा १५ धुर जमिन प्रदान गरेको र आर्थिक अभावले रेडक्रसले भवन निर्माण गर्न नसकेपछि जग्गादाता परिवारले नै भवन निर्माण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर