Aamsanchar

विद्यार्थीविहीन भएपछि विद्यालय बन्द

Author Image
शनिवार, भदौ ९, २०७५

मेचीनगर।

विद्यार्थीविहीन भएपछि झापा मेचीनगर–१ स्थित जनकल्याण प्राथमिक विद्यालय बन्द भएको छ ।

शैक्षिक सत्र शुरु भएको एक महिनासम्म विद्यालय खुला गरिए पनि कुनै विद्यार्थी भर्नाका लागि नआएको र भएका सबै विद्यार्थीसमेत अन्यत्र गएका कारण विद्यालय बन्द गरिएको मेची नगरपालिकाका शिक्षा शाखा प्रमुख उद्धव विष्टले बताए ।

२०४५ सालमा स्थापना भएको सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा विगत केही वर्षदेखि विद्यार्थी भर्ना हुन आउने क्रम घटेको थियो । अघिल्लो शैक्षिक सत्रमा २० जना मात्र विद्यार्थी रहेको तत्कालीन बाहुनडाँगी स्रोतकेन्द्रका स्रोतव्यक्ति दीपेन्द्र सुब्बाले बताए ।

विद्यालयमा गुणस्तरीय पढाइ नभएको भन्दै अभिभावकको बारम्बार गुनासो आइरहन्थ्यो । अभिभावकले नै मेचीनगर नगरपालिका शिक्षा शाखामा विद्यार्थीविहीन विद्यालय बन्द गरी पाऊँ भनी निवेदन दिएका थिए । विद्यालयमा प्राथमिक तहका तीन जना शिक्षक, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत थिए ।

मेचीनगर नगरपालिका शिक्षा परिषद्को २०७५ जेठ २८ गतेको बैठकले त्यहाँ कार्यरत शिक्षकलाई मेचीनगर क्षेत्रकै अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ भने कार्यालय सहयोगीलाई वडा कार्यालयमा राखिएको प्रमुख विष्टले जानकारी दिए ।

उनका अनुसार प्रधानाध्यापक उत्तम गिरीलाई बलभद्र आदर्श आधारभूत विद्यालय मेचीनगर–३, शिक्षक लक्ष्मी गिरीलाई मेची जनसाधारण मावि मेनपा–२, शिक्षक सावित्रा दाहाललाई पवित्रा आधारभूत विद्यालय मेनपा–१, बाल विकास शिक्षक खीला पराजुली र कृष्ण पुरीलाई आधारभूत विद्यालय मेनपा–२ र कार्यालय सहयोगी वडा कार्यालय मेनपा–१ मा स्थानान्तरण गरिएको छ ।

बन्द रहेको विद्यालयको नाममा ४ कठ्ठा जग्गा रहेको छ । जहाँ दुई कोठे ४ वटा पक्की भवन छन् । कम्पाण्डवालसहित खानेपानीलगायत सबै पूर्वाधार रहेको विद्यालयका प्रधानाध्यापक गिरीले बताए ।

अभिभावकले सामुदायिक विद्यायलप्रति कम चासो देखाउने र विद्यार्थीले अंग्रेजी माध्यमप्रति मोह देखाएका कारण अन्य विद्यालयमा समेत विद्यार्थी घट्ने क्रम देखिएको मेचीनगर–१५ स्थित डिगेन जनज्योति प्राथमिक विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बानियाँले बताए ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर