Aamsanchar

उद्योगधन्दाका नाममा धर्म परिवर्तनको धन्दा

Author Image
मङ्गलवार, भदौ १२, २०७५

काठमाडौं ।

उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् ? यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले उद्देश्यअनुसार काम नगरेको र व्यापारिक प्रवेशाज्ञा (भिसा) लिएर इसाई धर्म प्रचार गरेको भेटिएपछि सरकार त्यस्ता उद्योग र तिनका सञ्चाचालकप्रति कडाइ गर्ने भएको छ।

गृह मन्त्रालयले गत असार दोस्रो साता व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न एक फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन (डिपोर्ट) गरेको थियो।

व्यापारिक भिसा लिएर इसाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि उद्योग मन्त्रालयले थप उद्योगमा व्यापारिक भिसामा बसेका विदेशीको गतिविधिमा निगरानी बढाएको छ। ललितपुरको पुल्चोकमा रेस्टुरेन्ट चलाएर बसेका फिलिपिनी दम्पत्तीले कुमारीपाटीको ‘इभर नेसन चर्च’ मा पादरी भई इसाई धर्म प्रचार गरेको अभियोगमा अध्यागमन विभागले छानबिन थालेको थियो।

छानबिनका क्रममा उनीहरूले व्यवसायिक भिसाको आडमा चर्चमार्फत् इसाई धर्म प्रचार गरेको फेला परेपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै निष्कासन गरेको थियो।

उद्योग विभागले त्यस्ता शंकास्पद गतिविधि गर्ने आधा दर्जन विदेशी लगानीमा सञ्चालित उद्योग र सञ्चालकहरूको गोप्य विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको स्रोतले बताएको छ।

विभागका एक कर्मचारीका अनुसार, उद्योग मन्त्री मातृका यादवले त्यस्ता गतिविधिमा संलग्न विदेशीको थप विवरण समेत उपलब्ध गराउन उद्योग विभागलाई निर्देशन दिएका छन्।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर