Aamsanchar

झापाको अर्जुनधारामा फेरि छात्राहरुको समूहमाथि दुव्र्यवहार

Author Image
बुधवार, भदौ १३, २०७५

अमित खम्बू
अर्जुनधारा । महिलामाथि हुने सबै किसिमको हिंसाबिरुद्ध विरोध र सचेतना कार्यक्रम सञ्चालन भइरहँदा झापाको अर्जुनधारामा फेरि छात्राहरुको समूहमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ ।

घटना अनुसार गत शुक्रबार अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा ९ र १०मा अध्ययनरत् छात्राको समूह आफ्नो घरमा छिमेकी गाउँपालिका रोङ जाँदै गर्दा स्थानीय युवाहरुको समूहबाट दुव्र्यवहारको शिकार भएका हुन् ।

दुव्र्यवहारको विषयमा उनीहरुले गत सोमबार विद्यालय प्रशासनमा पाँचौं घण्टीपछि निवेदनसहित जानकारी दिएपछि मात्र घटना बारे आफूले थाह पाएको प्रधानाध्यापक खड्ग गोलेले बताए ।

उक्त निवेदन अनुसार हचुमासा सामुदायिक वनको खैरेनी ब्लक अन्तर्गत पर्ने वन क्षेत्रको बाटोमा विद्यालय आउने जाने क्रममा आरोपित मोटरसाइकलमा सवार व्यक्तिहरुले बाटो छेकी अभद्र व्यवहार गर्ने गरेको उल्लेख छ । ८ जना छात्राले सामुहिक रुपमा हस्ताक्षर गरेको उक्त निवेदनमा उनीहरुले विद्यालय आउने जाने क्रममा त्यस क्षेत्रमा सुरक्षाको माग गर्दै उनीहरुमाथि कार्वाहीको माग गरेका छन् ।
छात्राहरुको निवेदन प्राप्त भएपछि तत्काल सम्बन्धित वडा कार्यालय र शनिश्चरे प्रहरी चौकीमा घटनाको विषयमा उजुरी दिइएको प्रधानाध्यापक गोलेले जानकारी दिए । चौकीले दिएको जानकारी अनुसार घटनाका आरोपितहरु स्थानीय १८ वर्षीय गंगा रसाइली, १९ वर्षीय धनबहादुर राई र २० वर्षीय देवकुमार राईलाई मंगलबार नियन्त्रणमा लिइएको र सोही दिन नै थप अनुसन्धानको लागि बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइएको छ ।

यसरी भयो घटनाको खुलासा
पीडित छात्राका अनुसार विद्यालयदेखि घरसम्मको अनुमानित दुरी चार किलोमिटरमध्ये एक किलोमिटरको वन क्षेत्रको सडकमा आरोपित व्यक्तिहरुले उक्त घटना अघि दुईपटक त्यस किसिमको दुव्र्यवहार गरेका थिए ।
आरोपितहरु उनीहरुलाई पछ्याउँदै जाने र त्यस क्षेत्रमा पुगेपछि दुव्र्यवहार गर्ने गरेको पीडित छात्राले बताएका छन् । पहिलो र दोस्रोपटक दुई जना र तेस्रो पटक चार जना थिए– पीडितमध्येकी एकले भनिन् ।
पहिलोपटक त कामले होला भन्यौं, तर पटक–पटक भएपछि सुरक्षाको कारण हामीले साथीहरुबीचको सल्लाह बमोजिम विद्यालय प्रशासनमा निवेदन दिएका हौं– पीडित छात्राले बताइन् ।

विरोध र सचेतना बजार क्षेत्रमा, घटना गाउमा
गत जेठ २२ यता अर्जुनधारामा श्रृखंलावद्ध रुपमा भएको महिलामाथि हुने सबै किसिमको हिंसाबिरुद्ध स्थानीय सरकार र नगरपालिकाभित्रका विभिन्न संघ–संस्थाहरुले विरोध र सचेतना कार्यक्रम सञ्चालन गरिरहँदा उक्त घटना रोकिएको छैन ।
कार्यक्रमहरु बजार क्षेत्रमा केन्द्रीत भई सञ्चालन हुने तर घटना ग्रामीण भेगमा हुने गरेको स्वयम् कार्यक्रमहरुका सहभागीहरुले औंल्याउने गरेका छन् । विरोध र सचेतना कार्यक्रम बजार क्षेत्र भन्दा गाम्रीण भेगमा सञ्चालन हुनुपर्ने उनीहरुको माग रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर