भद्रपुर।

नेपाल–भारतको सीमावर्ती नाकामा नेपाली नक्कली नोटको कारोवार गर्ने गिरोह सक्रिय हुन थालेको छ । झापाको काँकरभिट्टा र भारतको पश्चिम बंगालस्थित पानीट्यांकी नाका जोडिएको सीमावर्ती बजारमा नेपाली नक्कली नोटको कारोबार हुन थालेकोले पछिल्लो समय काँकरभिट्टा ट्राञ्जिट पोइन्ट बनेको छ ।



नेपाल प्रहरी तथा भारतीय प्रहरीले नेपाली नक्कली नोट कारोबार गर्ने गिरोहमा आवद्ध केही व्यक्तिलाई ८ लाख ५० हजार नेपाली नक्कली नोटसहित पक्राउ गरे पनि गिरोहको जालोसम्म दुवै देशका प्रहरी अझै पुग्न सकेको छैन् । जसले गर्दा गिरोहमा आवद्ध समूहले नेपाली नक्कली नोट धमाधम नेपाली बजारमा भित्र्याउन थालेको छ ।


प्रहरीले साउन २९ गते चेकजाँचको क्रममा भारतको शिलगढीबाट ५० हजार नेपाली नक्कली नोट बोकेर आएका दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेका दुई सातापछि भारतीय सशस्त्र प्रहरी बल (एसएसबी)ले सीमावर्ती बजार नक्सलबाडीबाट ८ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित एक नेपाली भाषी नागरिकलाई सोमबार पक्राउ गरेको छ ।
काँकरभिट्टादेखि सीमावर्ती बजार नक्सलबाडीको दुरी ७ किलोमिटर रहेको छ । नेपाली नक्कली नोटसहित सीमावर्ती बजारमा यसरी भारतीय नागरिक पक्राउ पर्ने थालेपछि दुवै देशका प्रहरी अहिले खोज अनुसन्धानमा जुटेका छन् । नेपाली नक्कली नोट भारतीय सीमावर्ती बजार क्षेत्रमै बन्ने गरेकाले त्यहींबाटै त्यस्ता नोटहरु नेपाली बजार भित्र्याउने गरेको स्रोतको भनाइ छ ।
घटना नम्बर १
पानीट्यांकी–काँकरभिट्टा नाकामा दैनिक चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले साउन २९ गते दिउँसो झोला बोकेका दुई जना भारतीय नागरिकलाई शंका लागि चेकजाँच गरेका थिए ।
मेचीनगर–६ स्थित भन्सार गेट अगाडि चेकजाँचको क्रममा उनीहरुसँग प्रहरीले ५० हजार नेपाली नोट फेला पारेपछि आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगिएको थियो । भारत पश्चिम बंगला राज्यस्थित दार्जीलिङ जिल्ला शिलगढी निवासी ४० बर्षीय सतिश अग्रवाल र सोही ठाउँका २४ बर्षीय हितेस अग्रवालसँग फेला परेको नेपाली नोटको जाँच गर्दा उक्त नोट नक्कली भएको प्रमाणित भएको थियो । उनीहरु धुलावारी बजारबाट नेपाली नोट बोकेर भारतीय रुपैयाँमा साट्न काँकरभिट्टामा घुमिरहेका थिए ।
प्रहरीले सतिशको साथबाट एक हजार दरको ३३ थान र हितेसको साथबाट १७ थान गरी नेपाली ५० हजार रुपैयाँ नक्कली नोट फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । यता पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामै राखेर अहिलेसम्म अनुसन्धान भइरहेको उनले बताए ।
घटना नम्बर २
काँकरभिट्टदेखि ७ किलोमिटर उत्तरमा पर्ने भारतको नक्सलबाडीबाट भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ४१ बटालियनको टोलीले एउटा घरमा छापा मारेर ८ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । एसएसबीले नक्सलबाडी निवासी मनोज आचार्यलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका आचार्य नेपाली भाषी भारतीय नागरिक हुन् । एसएसबीले बरामद गरेको एक हजार दरका ८ सय वटा नेपाली नोट नक्कली भएको नेपाल प्रहरीले प्रमाणित गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । पक्राउ परेका आचार्यले दिएको बयान अनुसार उक्त नेपाली नोट भारतकै बागडोग्रामा पुर्याउनका लागि घरमा राखेको जनाइएको छ । यता पक्राउ परेका आचार्यलाई एसएसबीले नक्सलबाडी प्रहरीलाई जिम्मा लगाइसकेको एसएसबीका सहायक सेनानायक प्रविणकुमारले जानकारी दिए । उनले भारतीय सञ्चारमाध्यमलाई भने– ‘यसबारेमा पश्चिम बंगाल प्रहरीले थप अनुसन्धान गर्नेछ’ ।
रकम सटही गर्दा नक्कली नोट प्रयोग हुने आशंका
भारतीय एसएसबीले ८ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेपछि भारतीय सुरक्षाकर्मीले रकम साट्दा नक्कली नोटलाई त्यस माध्यमबाट प्रयोगमा ल्याउने गरेको आशंका व्यक्त गरेका छन् ।
भारतीय एसएसबीका सहायक सेनानायक प्रविणकुमारले भने– ‘व्यापार तथा कारोबारका सिलसिलामा नेपालको नोट भारतीय रुपैयाँमा साटिन्छ, त्यस्तै भारतीय नोट पनि नेपाली रुपैयाँमा साटिन्छन् । भारतीय नोट साट्ने बेला गिरोहका व्यक्तिले नक्कली नोट प्रयोग गर्न थालेको उनले आशंका व्यक्त गरे । यस सीमावर्ती नाकामा दैनिक करोड भन्दाबढी रकम सटही हुने गरेको छ ।
के भन्छ झापा प्रहरी ?
भारतीय नागरिक सतिश र हितेस नेपाली नक्कली नोटसहित पक्राउ परेपछि झापा प्रहरीले उनीहरुबाटै अनुसन्धान शुरु गरेको छ ।
साउन २९ गते पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी प्रहरीले १५ दिनदेखि अनुसन्धान गरिरहेको बताइएको छ । दुवै जनाले धुलावारी बजारबाट उक्त रकम ल्याएको अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिए । उनले भने– ‘अहिलेसम्म गिरोह समक्ष पुग्न सकेका छैनौं, उनीहरुमाथि अनुसन्धान जारी छ ।’ नक्कली नोट नेपालमा कहाँबाट आयो त्यसबारेमा पनि अनुसन्धान भइरहेको छ– उनले भने ।
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले भने– पछिल्लो समयमा काँकरभिट्टा तथा सीमावर्ती बजार आसपासका क्षेत्रमा नक्कली नोट कारोबार गर्ने समूह सक्रिय रहेको बुझ्नमा आएको छ । ‘अहिलेसम्म दुई जना पक्राउ परे पनि गिरोहका व्यक्ति सम्म पुग्न सकेका छैनौं’– उनले भने– ‘चाँडै नक्कली नोटको कारोबार गर्ने व्यक्तिसम्म पुग्नलाई प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।’

