Aamsanchar

भदौ २२ र २३ गते सुरुङ्गामा विभिन्न जिल्लाका सयौं यूवाको जमघट हुदै

Author Image
शुक्रवार, भदौ १५, २०७५

तीर्थराज खरेल
सुरुङ्गा, भदौ १५ । नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको आतिथेयमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन आगामी भदौ २२ र २३ गते हुने तय भएको छ ।
शुक्रवार सुरुङ्गा जेसीज हलमा आयोजित पत्रकार सम्मेलनमा सो सम्बन्धी जानकारी गराइएको हो । सम्मेलनमा जेसीजको क्षेत्र ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३७ वटा शाखा र ३ वटा प्रस्तावित शाखा गरी ४० शाखाका ६ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने छ । यो सम्मेलनमा पूर्वमा झापाको मेचीनगरमा रहेको धुलाबारी जेसीजदेखि पश्चिममा सर्लाहीको मलंगवा जेसीजसम्मको प्रतिनिधित्व रहने छ । पत्रकार सम्मेलनमा क्षेत्र ‘क’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

पत्रकार सम्मेलनमा क्षेत्र ‘क’ सम्मेलन सम्पन्न गर्नका लागि सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल निर्देशक र जेसी त्रिलोचन चिमरिया उपनिर्देशक रहने गरी ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएकोे छ भने ९ वटा विभिन्न उपसमिति गठन गरिएका छन् । जेसी शिवकुमार कडेंलको संयोजकत्वमा आर्थिक उपसमिति, त्रिलोचन चिमरियाको संयोजकत्वमा खानपिन व्यवस्थापन उपसमिति, प्रवीण तिम्सिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, जबिन तिम्सिनाको संयोजकत्वमा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, अर्जुन बोहोराको संयोजकत्वमा टेण्ट व्यवस्थापन उपसमिति, रामप्रसाद निरौलाको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति, भीमप्रसाद भट्टराईको संयोकत्वमा शाखा तथा अतिथि व्यवस्थापन उपसमिति र चन्दा ढकालको संयोजकत्वमा प्रकरण (अतिरिक्त क्रियाकलाप सञ्चालन) उपसमिति गठन गरिएका छन् । सबै मूल समिति तथा उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको र सम्मेलनका लागि आवश्यक उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएकोले सम्मेलनलाई उत्साहकासाथ सञ्चालन गर्नका लागि सजिलो हुने निर्देशक पोखरेलले जानकारी दिए ।

यो सम्मेलनको मूल नारा ‘एस वी साइन बाई राइजिङ्ग रिस्पोन्स्बीलिटी’ अर्थात् ‘हो, हामी हाम्रा उत्तरदायित्व पुरा गरे चम्किन्छौं’ रहेको छ । कनकाई उद्योग वाणिज्य संघको सभाहलमा हुने सम्मेलनमा प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्य र मुख्य वक्ताका रुपमा प्राध्यापक डा. सुरेन्द्र के.सी., राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र युवा लेखक उज्ज्वल प्रसाई रहने तय भएको छ । उक्त सम्मेलनमा प्रेरक वक्ताको रुपमा आनी छोइङ्ग डोल्मा निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ ।
यो सम्मेलन सम्पन्न गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने यसको व्यवस्थापनका लागि मुख्यतः रजिस्ट्रेशन शुल्क र विज्ञापनलाई नै मुख्य स्रोतको रुपमा लिइएको छ भने झापाका १५ वटै स्थानीय तहमा सहयोगका लागि अपिल गरिएको सुरुङ्गा जेसीजका महासचिव देवेन्द्र रिसालले जानकारी दिए । पत्रकार सम्मेलनमा जेसीहरु जनक कार्की, सरला दाहाल, जबिन तिम्सिना, सरोज सिटौला, त्रिलोचन उप्रेती, सुष्मा न्यौपाने, रामप्रसाद निरौला, उषा उप्रेती, पंकज मैनाली लगायतको उपस्थिति रहेको थियो ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर