Aamsanchar

श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कारद्वारा ढकाल पुरस्कृत

Author Image
शनिवार, भदौ १६, २०७५

बिर्तामोड।

पूर्वाञ्चल दैनिकका डेस्कसम्पादक लक्ष्मण ढकाललाई यस वर्षको श्याम कृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले शनिवार बिर्तामोडमा एक कार्यक्रमकाबीच डेस्क सम्पादक ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले सम्मान पत्र वाचन गरेका थिए ।

१५ हजार ५ सय ५५ रुपैयाँ राशिको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व प्राध्यापक तथा वरिष्ठ साहित्यकार माधव भँडारीले ढकाललाई प्रदान गरेका थिए । २०३४देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिताको यात्रा शुरु गरेका हुन् । उनले स्वतन्त्रता, जनस्वतन्त्रता लगायतका पत्रपत्रिकासहित कञ्चनजंघा एफएममा पनि समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।

पूर्वाञ्चल स्तरीय उक्त पुरस्कारबाट यस अघि इलामका धर्म गौतम, झापाका मदन ढकाल, गोविन्दचन्द क्षेत्री, नकूल काजी, डिल्लीराम निर्भिक पुरस्कृत भइसकेका छन् । त्यसैगरी सुनसरीका गिरीराजमणि आचार्य, मोरङका कोशराज रेग्मी , सप्तरीका शिशुप्रसाद देवकोटा र शिवहरि भट्टराई पुरस्कृत भइसकेका छन् ।

पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले गुठीको स्थापना गरेकी हुन् । १९८६मा जन्मिएका उपाध्यायले आलोक, केटो साप्ताहिक लगायत विभिन्न पत्रिकाको सम्पादक तथा विभिन्न तहमा रहेर सेवा गरेका थिए । पञ्चायती कालमा पनि पत्रकारितामार्फत लोकतन्त्रको लडाइँ लडेका उपाध्यायलाई मेची अञ्चलका जेठा पत्रकारका रुपमा सम्मान गरिएको छ । उनको २०४६ चैत १७मा निधन भएको थियो ।

कार्यक्रममा ढकालको परिचय साहित्यकार रश्मीशेखर सुवेदीले प्रस्तुत गरेका थिए । गुठीका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेलले श्यामकृष्ण उपाध्यायको परिचयसहित स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, पूर्वसांसद भक्त खपाङ्गी लगायतले बोलेका थिए । गुठीका संस्थापक आभाकुमारी शर्माको शुभकामना मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन गुठीका सदस्य विप्लव भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर