इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको छ ।
देउमाई नगरपालिका(१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो । बेलुका करिब ८ बजेबाट शुरु भएको आगो राति ११ बजे निभाइएको थियो । पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलको सहयोगमा स्थानीयबासी र सुरक्षाकर्मीले आगो निभाएका थिए ।
आगलागीबाट तीन वटा सटरसहितको पाँच तले घर जलेको छ । प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक आभुषण तिम्सिनाका अनुसार श्रेष्ठको घरमा रहेको किराना पसल, जुत्ताको पसल जलेर नष्ट भएको छ । जितबहादुर बस्नेतको किराना पसल जल्दा ४० लाख, शिवबहादुर विष्टको जुत्ता पसल जल्दा ७ लाख र श्रेष्ठको पाँच तल्ले घर पूर्ण रुपमा जल्दा १ करोड ३५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।
मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिब दुई वर्ष अगाडि पनि आगलागी भएको थियो ।