Aamsanchar

प्लाष्टिकले पुर्खेउली पेशा संकटमा

Author Image
मङ्गलवार, भदौ १९, २०७५

बिर्तामोड ।

माटोको सामग्री बनाउने कुम्हाले समुदायको पूख्र्यौली पेशा संकटमा परेको छ । बजारमा प्लाष्टिक, सिल्भर, स्टिल, फलामका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो ।

बजारमा प्लाष्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, दियो (पाला) लगायतका सामग्रीले माटाका भाँडाको व्यापारलाई संकटमा पारेको कुम्हाले समुदायका अगुवाहरुको भनाइ रहेको छ ।

उनीहरुले आफ्नो पेशा जोगाई राख्न समेत समस्या भएको भन्दै यो विषयमा राज्यले बेलैमा ध्यान नदिए आफूहरुको पेशा सदाका लागी लोप हुने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल प्रजापति (कुम्भकार) संघका राष्ट्रिय अध्यक्ष रामानन्द पण्डितले आफूहरुको जातलाई दुई भागमा विभाजित गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पहाडका कुम्हाले र तराईका कुम्भकार एकै भए पनि दुई अलग–अलग रुपमा गणना गरिएको उनले बताए । उनले भने– पहाडका कुम्हाले र तराईका कुम्भकारहरु दुवैको पेशा माटोका सामाग्री बनाउने नै तर लेखाइमा फरक भएकै कारण आफूहरुलाई अलग गरिएको छ । हामी एउटै जाति हौं ।

माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आफूहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको राष्ट्रिय अध्यक्ष पण्डितले बताए । आफूहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी संघ–संस्थाको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।

आफूहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उनको भनाइ थियो ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाले जातिका महिला ३० हजार चार सय १६ र पुरुष ३१ हजार नौ सय ८३ गरी कूल ६२ हजार तीन सय ९९ जनसंख्या रहेको छ । उनीहरु झापासहित तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आइरहेका छन् । कुम्हालेले माटोका कलश, कोहा, ढकन, घैला, दियो, खुत्रुके लगायतका सामग्री बनाउने गर्दछन् ।

आफूहरु आफ्नो पेशालाई संरक्षण गर्नेतर्फ लागे पनि माटो र दाउराको अभाव भएको भन्दै राष्ट्रिय अध्यक्ष पण्डितले सरकारले यो विषयमा ध्यान नै नदिएको आरोप लगाए । माटो भेटिए दाउरा पाइन्न अनि कसरी हाम्रो परम्परागत पेशालाई संरक्षण गर्ने भन्दै उनले प्रतिप्रश्न गरे । उनले अब आफूहरु वैकल्पिक पेशातर्फ लाग्न शुरु गरेको समेत जानकारी दिए ।

झापा जस्तो शिक्षित जिल्लामा पनि कुम्हाले जाति धेरैपछि परेको भन्दै नेपाल प्रजापति (कुम्भकार) संघका जिल्ला अध्यक्ष उत्तम पण्डितले आफूहरुको जातिको उत्थानका लागि राज्यले ध्यान नदिएको बताए । परम्परागत पेशा संकटमा पर्दा समेत आफूहरुलाई राज्यले खोजखबर नै नगरेको भन्दै उनले असन्तुष्टि जनाए । झापाका ८० प्रतिशत कुम्हालेको आफ्नै जग्गा नभएको भन्दै राज्यले यो विषयमा ध्यान दिनुपर्ने माग गरेका छन् ।

पछिल्लो समय कुम्हाले जातिमा पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको भन्दै सबै बालबालिकालाई विद्यालयसम्म पु¥याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष पण्डितले दाबी गरे । पुरानो पुस्ताका व्यक्तिहरूको शारीरिक क्षमता घट्नु र युवाहरू अन्य रोजगारीमा लाग्नु, विदेशतिर जानु र परम्परागत पेशाप्रति चासो नहुनुले गर्दा यो व्यवसाय संकटमा पर्दै गएको भन्दै उनले भने– कुम्हालेको पहिचान भनेकै माटोको भाँडा बनाउने हो ।

यो पेशाको संरक्षणमा राज्यले बेलैमा ध्यान दिनुपर्छ । झापामा ६८ घरधुरी मात्र कुम्हाले रहेको भन्दै लोपोन्मुख अवस्थामा पुगेको जातिको संरक्षणमा आफूहरु लागीपरेको अध्यक्ष पण्डितको भनाइ छ । बजारबाट रवर र प्लाष्टिकका भाडाहरूको अत्याधिक प्रयोग र कुमाल समुदायकै युवाहरूमा नै आफ्नै पूख्र्याैली पेशाप्रतिको अरूचीका कारण यो पेशा लोपोन्मुख अवस्थामा रहेको कुम्हाले समुदायका शिक्षक रामचन्द्र पण्डितले बताए ।

उनले भने– हाम्रो समुदायको सम्भवतः झापामा कार्यरत शिक्षक म मात्रै हुँ । हाम्रो समुदायमा पछिल्लो समय शिक्षाप्रति जागरुक भए पनि सरकारी पहुँचमा पुग्न सकेका छैनौं । परम्परागत रुपमा माटोका सामग्री निर्माण गरे पनि युवाहरुमा अरुची तथा माटो र दाउराको अभावका कारण क्रमशः कुम्हालेको पेशा संकटमा पर्दैछ ।

माटोका भाँडाको व्यवसायबाट वार्षिक मनग्ये आम्दानी गरे पनि हाल घर व्यवहार चलाउनै मुस्किल पर्न थालेको कुम्हाले समुदायका व्यक्तिहरुको भनाइ छ । पुस्तौंदेखिको आफ्नो पेशा र पहिचान लोपहुने खतरा बढ्दै गएपछि कुमाल समुदाय चिन्तित बनेको छ ।

यसैबीच नेपाल प्रजापति (कुम्भकार) संघको प्रथम झापा जिल्ला अधिवेशन झापाको बाह्रदशी गाउँपालिका–६मा सम्पन्न भएको छ । वि.सं.२०५२ सालमा स्थापना भए पनि २३ वर्षपछि पहिलो पटक जिल्ला अधिवेशन भएको हो ।
नेपाल प्रजापति (कुम्भकार) संघका राष्ट्रिय अध्यक्ष रामानन्द पण्डितको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर