Aamsanchar

यौन हिंसा न्यूनिकरण गर्न र सडक सुरक्षामा झापाको १५ बुदें प्रतिबद्धता

Author Image
बुधवार, भदौ २०, २०७५

बिर्तामोड ।

यौनजन्य हिंसा र सडक दुर्घटना न्यूनिकरणका लागी झापाका सरकारी तथा गैरसरकारी संस्थाले १५ बुदे प्रतिबद्ध जनाएका छन् । झापाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला, ट्राफिक प्रहरी कार्यालय र वाईआरएस नेपाल नामक संस्थाले १५ बुदे सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र वाइआरएस नेपालको सहकार्यमा बुधबार बिर्तामोडमा भएको कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रशासन, प्रहरी, जनप्रतिनिधि र वाईआरएस बीचको यो सामुहिक प्रतिबद्धता देशकै पहिलो र उदाहरणीय कार्य भएको बताए । कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले प्रहरी सबैसंग हातेमालो गर्दै अपराध नियन्त्रणमा एक जुट भएर लाग्ने बताए ।

उनले झापाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले यौनजन्य हिंसा न्यूनिकरण गर्न र सडक सुरक्षा गर्न सामुहिक प्रतिबद्धता जनाईदिएको भन्दै झापामा अब अपराध नियन्त्रण हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले स्थानीय तहले गर्नुपर्ने काम प्रहरीले गरेकाले अब स्थानीय तह जाग्नुपर्ने बेला आएको उल्लेख गरे ।

कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले अब स्थानीय तहले नै आफ्नो क्षेत्रको सुरक्षामा लाग्नुपर्ने धारणा ब्यक्र गरे । त्यस्तै अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले स्थानीय तहका हरेक क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न अब जनप्रतिनिधिले जिम्मेवार रुपमा लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा हल्दिबारी गाँउपालिकाका उपाध्यक्ष डम्बर गिरीले अपराध न्यूनिकरणमा सहयोग पुगोस् भनेर आफ्नो क्षेत्रमा रहेका प्रहरी चौकीहरुलाई गाँउपालिकाले मोटरसाइकल उपलब्ध गराएको बताए ।

कार्यक्रममा झापा गाँउपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीले गाँउ–गाँउसम्म सुरक्षाको अनुभूति हुने किसिमको कार्यक्रम सबै मिलेर लागु गर्नुपर्ने विचार ब्यक्त गरिन् । कार्यक्रममा विभिन्ननगरपालिका तथा गाँउपालिका प्रमुख,उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरुले अपराध नियन्त्रणमा खेल्नुपर्ने भूमिकाको विषयमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

झापामा दुर्घटना संख्या घटाउन ट्राफिक प्रहरी सफल भएपनि मृत्युदर बढ्दै जानु चिन्ताको विषय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए । कार्यक्रममा समाजमा यौनजन्य हिंसा गर्ने कार्यमा सम्भावित पिडकको पहिचान गर्न समाज भित्रकै मानिसलाई परिचालन गर्ने, यौनजन्य हिंसा हुन सक्ने अवस्थामा त्यसबाट अपनाउन पर्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम संचालन गर्ने लगायतका १५ बुदें प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल रहेका थिए । कार्यक्रममा उपस्थित सबै जनप्रतिनिधि तथा वाईआरएस नेपालका अध्यक्ष रोजिना पाण्डे सहित सदस्यहरु विशिष्ट अतिथी रहेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत वाईआरएस नेपालका कोषध्यक्ष उमेश रेग्मीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र ढकालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)