

नरेन्द्र ढकाल / बिर्तामोड।




घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले झापा सहित देशभर आत्महत्याको घटना वृद्धि हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार गतआर्थिक बर्ष ०७४÷०७५मा २४७ जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये २११ जना झुण्डिएर, २५ जना बिष सेवन गरेर र एक जनाले आगो लगाएर आत्महत्या गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । आर्थिक बर्ष ०७३÷०७४मा १९७ जना झुण्डिएर, ३१ जना बिष सेवन गरेर, आगो र औजारबाट १÷१ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै ०७२÷०७३मा १९३ जनाले झुण्डिएर, ४२ जनाले बिष सेवन गरेर, आगोबाट ३ र औजारबाट १ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी ०७१÷०७२ मा १८३ जना झुण्डिएर, ५५ जना बिष सेवन गरेर र ३ जनाले आगो लगाएर आत्महत्या गरेका थिए ।
झापामा आत्महत्याको घटना बार्षिक रुपमा बढ्न थालेपछि यसको रोकथामका लागि प्रहरीले जिल्लाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालको भनाइ छ । उनले भने– मानिस सबै तिरबाट निराश भएपछि आफ्नो जिन्दगीलाई बेकार सम्झेर आत्महत्या गर्न बाध्य हुन्छ । यो अवस्थामा हामीले मानिसमा सकारात्मक सोचको विकास गर्न सक्नुपर्छ ।
चालू आर्थिक वर्षको साउन महिनामा मात्रै झुण्डिएर, विष सेवन गरेर, आगो र औजारको प्रयोग गरेर १८ जनाले आत्महत्या गरेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । उनले वर्षेनि आत्महत्या बढिरहेकाले अब आधारभूत तहबाटै सकारात्मक सोच र जीवनको महत्वबारे शिक्षा दिन आवश्यक रहेको विचार ब्यक्त गरे । झापाको तथ्याङ्क हेर्दा वर्षेनि आत्महत्याको संख्या बढेकाले सबैले आ–आफ्नो स्थानबाट मानिसलाई एकपटक पाउने आफ्नो जिन्दगीको महत्वको विषयमा सचेतना फैलाउन सहयोग गर्न प्रहरी उपरीक्षक ढकालले आह्वान समेत गरेका छन् । कतिपय अवस्थामा स–साना बालबालिकाहरुले आवेशमा आएर आत्महत्या गर्ने गरेको पाइएकाले आफ्ना नानीहरुलाई यस विषयमा सचेत गराउन अभिभावहरुलाई सुझाव समेत दिएका छन् ।
झापासहित प्रदेश १का १४ जिल्लामा समेत आत्महत्याको अवस्था कहालिलाग्दो अवस्थामा रहेको पाइएको छ । पूर्वका झापा, इलाम, पाँचथर,ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभा, उदयपुर लगायतका जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको प्रदेश प्रहरीले जनाएको छ ।
यही प्रदेशमा आर्थिक वर्ष ०७२÷०७३ मा एक हजार एक सय एक जनाले आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक वर्ष ०७३÷०७४ मा एक हजार दुई सय २८ जनाले आत्महत्या गरेका छन् भने गत आर्थिक वर्ष ०७४÷०७५ मा एक हजार एक सय ५ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।
समाजको विकास सँगसँगै मान्छेको सोचाइ पनि ठूलो हुने र त्यस्ता ठूला सोचाइ तथा सपनाहरु सपनामै सीमित हुने भएकाले आत्महत्याका घटना बढ्ने गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख डीआईजी केदार रिजालले बताए । उनले पूर्वका जिल्लामा आत्महत्यालाई निरुत्साहित गर्न प्रहरीले सचेतनामूलक कार्यक्रमहरु गरिरहेको उल्लेख गरे ।
हरेक ४० मिनेटमा एक जनाले आत्महत्या गर्छन्
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनि १० लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।
डब्लुटीओको तथ्यांकमा हरेक तीन सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको र हरेक ४० मिनेटमा एक व्यक्तिको ज्यान जाने गरेको छ । यो संख्या, सम्पूर्ण, प्राकृतिक प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरको संख्या भन्दा पनि बढी भएको डब्लुटीओले जनाएको छ ।
अति विकसित देशहरुभन्दा पनि विकासशील तथा गरीब राष्ट्रहरुमा आत्महत्याको अवस्था भयावह रहेको विभिन्न तथ्याङ्कहरु सार्वजनिक भएका छन् ।
आत्महत्या मानिसक रोग
आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सकहरु बताउँछन् । आफैंमा विश्वास नहुनु, जीवनदेखि हार खानु र भावी जीवनको लागि असमर्थ हुनुले मानिसलाई आत्महत्यातर्फ लाने गरेकाले यो एक प्रकारको मनोरोग भएको चिकित्सकहरुको भनाइ छ ।
कसैको सामु आफ्नो बेइज्जत भएको छ भने पनि मानिस आत्महत्या गर्नतर्फ उद्धत हुने गरेको बताइएको छ । लागूपदार्थ सेवनबाट हुने कलह र झैझगडाबाट पनि आत्महत्याको घटना बढाएको डाक्टरहरुले बताएका छन् ।
आज आत्महत्या विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज सेप्टेम्बर १० आत्महत्याविरुद्धको दिवस । नेपालसहित विश्वभर बिभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
एक तथ्याङ्क अनुसार विश्वमा बर्षेनि ८ लाख मानिसले आत्महत्या गर्ने गरेको अनुमान छ । आत्महत्याविरुद्धको दिवसमा कसैले आफ्नो जीवनप्रति नकारात्मक कुरा गर्छ भने उसलाई हौसला प्रदान गरेर उसलाई बाँच्न उत्प्रेरित गर्न प्रहरीले सबैसंग आग्रह गरेको छ ।
आत्महत्याविरुद्धको दिवसमा सबैले सकारात्मक काम गर्दै जीवनको महत्वबारे बुझ्न प्रहरीले सुझाव समेत दिएको छ ।

