Aamsanchar

प्रदेश १ को न्वारान कहिले ? प्रदेशका संसाद नै अलमलमा

Author Image
बिहिवार, भदौ २८, २०७५

झापा ।

हिमाल, पहाड र तराई सबै भु–भाग मिलेर बनेको प्रदेश १ को न्वारान आर्थात नामाकरण अझै हुन सकेको छैन । बिशेषत पहाडमा रहेका किराँती अर्थात राई तथा लिम्बुवान्को माग गर्ने लिम्बु समुदायले नामाकरण अभियान र अन्य प्रदेशले प्राकृतिक सम्पदाका आधारमा नामाकरण गरिरहँदा प्रदेश १ सरकार र प्रदेश सदन अन्यौलमा देखिन्छ ।

मुख्यमन्त्री शेरधन राईका अनुसार प्रदेशको नाम र राजधानीका बारेमा छलफल चल्दैछ । तराईको कोच समुदाय थारु, ऐतिहासिक आधारमा किराँत, क्षेत्रीय हिसावले बिराट र प्रकृतीक रुपमा प्रदेशको नाम कोशी र सगरमाथा चर्चामा छन् ।

यसले प्रदेशको न्वारान गर्ने पण्डीतमा झनै अन्यौलता छ । प्रदेश १ को नामका बारेमा प्रदेशसभाका सदस्यहरु पनि विभाजित छन् । माथिल्लो पहाडी क्षेत्रका सांसदहरु सगरमाथा प्रदेश राख्नुपर्ने पक्षमा छन् । तल्लो भेगका सांसदहरु कोशी प्रदेशको पक्षमा छन् ।

प्रदेश राजधानी चाँडै टुङ्गिन्छ : मन्त्री कार्की


उसो त प्रदेशका मन्त्रीले जुनै स्थानको भाषणमा पनि आज भोली प्रदेशको नामाकरण र स्थायी मुकामको टुङ्गो चाडै लाग्ने बताउँदै आएका छन् । यसैक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताएका हुन् । प्रदेशको नामका लागि कोशी, सगरमाथा, किराँत,  लिम्बुवान लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको बताउँदै मन्त्री कार्कीले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरी लगायतका नाम प्रस्ताव भएकाले राजधानिको टुङ्गो समेत चाँडै लाग्ने बताए ।

प्रदेश नम्बर १ लाई पहिचानको आधारमा लिम्बुवान, किराँत नामाकरण हुनुपर्ने भन्दै लामो समयदेखि पहिचानवादी संस्थाहरुले आन्दोलन चर्काईरहेका छन् । तत्कालिन माओवादीले कोचिला, लिम्वुवान, किराँत र थरुहट जस्ता राज्यको परिकल्पनालाई राजनैतिक मुद्दा बनाएका सबै स्थान हाल प्रदेश १ मा आटाएका छन् । यता एमालेले बहुपहिचानका आधारमा किराँत लिम्बुवान कोशी प्रदेश भनेको थियो । हाल प्रदेश १ को न्वारानमा अधिकार पाएका पण्डीत एमाले र माओवादी एकै पार्टीमा समाहीत छन् ।

हाल उनीहरुलाई आफ्नो नारा वा गैर जातिवादीको माग र अन्य प्रदेशको नामाकरणको आधारलाई मान्ने रोज्न सकस देखिन्छ । अहिले पनि अरुण पुर्वका ९ जिल्ला लिम्बुवान प्रदेश बनाउनु पर्ने माग सहित लिम्बुवान संस्था आन्दोलनमा छन् । लिम्बुवान् नेताले प्रदेश १ को नामाकरणमा प्रदेश २ लाई आधार वनाउनु पर्ने बताउँदै प्रदेश २ को नामाकरण नभई प्रदेश १ को हुन नहुने त्यसो भए आन्दोलन हुने बताउँदै आएका छन् । यता किराँत प्रदेशको मागका साथ किराँत राई यायोख्खा पनि अभियानमा रहेको छ ।

अब सबैलाई मान्य हुनेगरी सगरमाथा वा कोशी प्रदेशमा सहमति खोज्न सकिने उच्च स्रोतले जनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट प्रदेशलाई चिनाउन सकिने भएकाले सगरमाथामै सहमति हुनसक्ने सम्भावना छ ।-परिवर्तन खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर