Aamsanchar

प्रतिबन्ध हटेपछि सन्दकपुर क्षेत्रमा पर्यटकको आगमन

Author Image
आइतवार, भदौ ३१, २०७५

पशुपतिनगर, 

दार्जिलिङको सिंहलीला नेशनल पार्कले पर्यटक आवजावतमा लगाएको प्रतिबन्ध हटाएपछि इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ ।

उक्त पार्कले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् समय (जुन १५ तारिखदेखि तीन महिनाका लागि) पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध शनिबारदेखि खुला गरेपछि भारत भएर आउने पर्यटकको चहलपहल बढेको हो ।

पर्यटक प्रवेशले रेडपाण्डाको प्रजननमा प्रभाव पर्ने भन्दै पार्कले हरेक वर्ष जुन १५ देखि सेप्टेम्बर १५ सम्म पर्यटक आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ । इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुर जान नेपालबाट सडक नभएको तर भारतीय क्षेत्रमा प्रतिबन्ध लगाएकाले पर्यटकको आवागमन ठप्प हुन्छ ।

सूर्योदय नगरपालिका क्षेत्रको सीमा बजार मानेभञ्ज्याङ–सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्ने गैरीवासदेखि कालपोखरीसम्म नेपालबाट बाटो नखनिएका कारण पर्यटकले भारतीय बाटो प्रयोग गर्दै आएका छन् । भारतको उक्त पार्कले आवतजावतमै प्रतिबन्ध लगाएपछि पर्यटक मानेभञ्ज्याङ–सन्दकपुर पर्यटन क्षेत्रको भ्रमणमा नआउने गरेको मानेभञ्ज्याङ् ल्याण्डरोभर एसोशिएशनका अध्यक्ष पासाङ तामाङले बताउनुभयो ।

भारतले सीमाक्षेत्रमा मानेभञ्ज्याङदेखि फालुटसम्म पर्यटन पदमार्ग निर्माण गरेको छ भने नेपालले सो क्षेत्रमा पूरै पदमार्ग निर्माण गर्न सकेको छैन । पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा पदयात्राका लागि भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् ।

पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल पनि खुलेका छन् । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौबारी, गैरीवास, कैयाकट्टा, कालपोखरी, बिर्खेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौँदेखि भारत भएर आउने पर्यटकलाई लक्षित गरेर नेपालका दर्जनौँ होटल सञ्चालनमा छन् ।

असोज र कात्तिकमा पर्यटक आवागमन उच्च हुने भएकाले बर्खामा बन्द भए पनि अनुकुल याममा ल्याण्डरोभर गाडीमा पर्यटक ओसारपसारमा भ्याइनभ्याइ हुने सूर्योदन नगरपालिका–१ का अध्यक्ष राजकुमार श्रेरेङले बताउनुभयो । सन्दकपुर क्षेत्रमा असोजदेखि वैशाखसम्मै पर्यटक आउजाउको क्रम चल्ने गरेको छ । कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला र सूर्योदय दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडिबुटी हिमाली जीवनशैलीलगायत अवलोकनका लागि पनि सीमावर्ती क्षेत्र प्रख्यात छ ।

प्रदेश नं १ को प्रख्यात धार्मिकस्थल कन्काइ माईको मुहान रहेको तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट नेपाल भारत, भूटान र सिक्किम क्षेत्रमा ६० बढी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर