Aamsanchar

पार्टी एकता अलपत्र छाडेर नेकपाका शिर्ष नेता विदेश भ्रमणमा व्यस्त

Author Image
बिहिवार, असोज ४, २०७५

काठमाडौं,

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केन्द्रीय तहमा भएको पनि चार महिना पूरा भएको छ।

दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामकरण गरेको नेकपाले केन्द्रमा एकता भएको तीन महिनाभित्र तल्ला कमिटी (प्रदेश/जिल्ला, जनवर्गीय संगठन, विभाग)को एकीकरण गरिसक्ने समयसीमा तोकेको थियो।

तीन महिनाको समयसीमा पार गरेपछि विभिन्न मिति तय गरी केन्द्रले बनाएको कार्यदललाई एकताका लागि संख्या, नाम र नेतृत्व छनोट गर्ने जिम्मा दिइए पनि हालसम्म त्यो अगाडि बढ्न सकेको छैन।

खासगरी तल्ला कमिटी एकीकरणका निम्ति प्रदेश तथा जिल्लाबाट आएका सिफारिस विवादित भएपछि सचिवालयले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ।

केन्द्रमा एकता भएको लामो समय भइसक्दा पनि तल्ला कमिटीको एकता टुंगिने त परै छाडौँ, विवाद झनै बढ्दै गएको छ। त्यसको समाधानका लागि पार्टीका शीर्ष नेताहरू लाग्नुपर्ने भए पनि त्यो भइरहेको छैन।

उता, नेकपाका नेताहरू भने एकताका काम थाती राखेर विदेश दौडाहामा छन्। नेताहरू विभिन्न कार्यक्रमका नाममा विदेश भ्रमणमा रहँदा पार्टी एकता प्रभावित भएको छ।

नेकपाका को नेता कहाँ?

पार्टीको तल्ला कमिटी एकताका निम्ति सिफारिस विवाद बढेपछि पार्टीभित्र नयाँ मापदण्ड बनाएर जानुपर्ने माग आयो।

त्यसपछि विवाद साम्य पार्न भदौ २७ र २८ गते बसेको सचिवालय बैठकले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ।

तर विवाद टुंग्याउने जिम्मा पाएका दुई अध्यक्षबीच ठोस छलफल नै हुन सकेको छैन। पार्टी सचिवालयले जिम्मा दिएको दुई दिनपछि अध्यक्ष प्रचण्ड चीन भ्रमणमा लागे।

पाँच दिने चीन भ्रमण टुंग्याएर प्रचण्ड बुधबार राती स्वदेश फर्कंदै छन्। अध्यक्ष दाहाल चीन जानु पहिले दुई अध्यक्षबीच भेट भएको थियो तर पार्टी एकताबारे कुनै ठोस छलफल भने हुन नसकेको नेकपाका नेताहरू बताउँछन्।

यसअघि अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण गरेर भदौ २४ गते स्वदेश फिर्ता भएका थिए। एक साताअघि अध्यक्ष दाहालले गरेको भारत भ्रमण र अहिले गरिएको चीन भ्रमणलाई चासोका साथ हेरिएको छ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री १२ दिनका लागि अमेरिका जाँदै

यसै क्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि आगामी शनिबार अमेरिका जाँदै छन्।

संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण १२ दिने हुनेछ।

हालसम्मको जानकारीअनुसार २२ जनाको टोली लिएर अमेरिका जान लागेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभासँगै त्यहाँ आएका विभिन्न देशका राष्ट्रप्रमुखहरू एवं अमेरिकामा रहेका नेपालीहरूसँग भेट गर्ने कार्यक्रम छ।

वरिष्ठ नेता नेपाल घानातर्फ

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले घानामा छन्।

सोसियलिस्ट पार्टी अफ घानाको निमन्त्रणामा त्यहाँ आयोजना गरिएको ‘साम्राज्यवाद तथा पुँजीवादविरोधी सम्मेलन’मा सहभागी हुनका लागि नेता नेपाल बुधबार बिहान घानातर्फ प्रस्थान गरेका हुन्।

नेता नेपालसहित उक्त टोलीमा नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल र नेकपा केन्द्रीय सदस्य बलराम बाँस्कोटा सहभागी छन्। उनी एक सातापछि आगामी असोज ९ गते स्वदेश फर्कने कार्यक्रम छ।

यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि आगामी असोज ८ गते सुडान भ्रमणमा जाने कार्यक्रम छ। यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणमा रहेका छन्।

भदौ २९ गते साताव्यापी चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका नेता श्रेष्ठले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। १५ जनाको टोली लिएर चीन गएका नेता श्रेष्ठ बिहीबार स्वदेश फर्किनेछन् ।

विदेश भ्रमणले एकता प्रभावित

नेकपाका नेताहरू विदेश भ्रमणमा रहँदा पार्टी एकता प्रभावित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल बुधबार राती स्वदेश फर्कंदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार अमेरिका जाँदै छन्। ओली अमेरिका जानुअघि दुई अध्यक्षबीच एकताबारे छलफल हुनेछ। तर हालसम्म ठोस छलफल नभइसकेकाले यसबीचमा निकास निस्कने अवस्था देखिँदैन।

असोज ६ गते प्रधानमन्त्री अमेरिका जाने भएपछि ४ र ५ गते मात्र दुई अध्यक्षबीच छलफल गर्ने समय बाँकी छ। यसबीचमा एकताबारे आँकलन मात्र गर्न सकिने नेकपाका नेताहरू बताउँछन्।

प्रधानमन्त्रीको अमेरिका भ्रमण लामो भएकाले यसबीचमा पार्टी एकताबारे ठोस निष्कर्ष निस्किने कुनै सम्भावना छैन। अध्यक्ष प्रचण्ड बुधबार राती फर्किने कार्यक्रम रहेकाले बिहीबारदेखि नै दुई अध्यक्षबीच छलफल प्रारम्भ हुने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

यसरी नेताहरू विदेश भ्रमणमा गइरहँदा नेकपाका तल्ला कमिटीबीचको एकीकरण भने नराम्ररी धकेलिएको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल पार्टी नेताहरूको विदेश भ्रमणले पार्टी एकता प्रक्रिया पूरै जाम भएको बताउँछन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अमेरिका भ्रमणबाट फर्केपछि मात्र ठोस छलफल अगाडि बढ्न सक्ने उनको भनाइ छ। ‘पार्टी एकता त अहिले पूरै जाम जस्तो छ।

पार्टीका शीर्ष नेताहरूको विदेश भ्रमण जारी छ’, नेता रिजालले भने, ‘यसले गर्दा एकता प्रभावित भएको छ। अब ठोस छलफल प्रधानमन्त्री अमेरिकाबाट फर्किसकेपछि बल्ल होला।’-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर