Aamsanchar

बर्खापछि पनि ठाउँ ठाउँमा सुख्खा पहिरोको जोखिम किन

Author Image
बिहिवार, असोज ४, २०७५

काठमाडौं ।

बर्खा याम सकिन लागेसँगै सुख्खा पहिरो जाने क्रम बढ्न थालेको भन्दै त्यसतर्फ सचेत हुन भूगर्भविद्हरूले सरकारलाई सुझाव दिएका छन्।

खासगरी भिरालो भूबनौट र उच्च हिमाली भेगहरूमा बर्खापश्चात घाम चर्कन थालेपछि सुख्खा पहिरो जाने सम्भावना बढी रहेकोले विपद्अघि नै सरकारी सक्रियता बढ्नु पर्नेमा विज्ञहरूले जोड दिएका छन्।

सरकारी अधिकारीहरुले भने यो वर्ष त्यसनिम्ति पूर्व तयारी थालिसकेको जनाएको छ। मुग्लिङ-नारायणगढ राजमार्गमा कतिपय स्थानमा सुख्खा पहिरोको कारण बेलाबेलामा सडक अवरुद्ध हुन थालिसक्यो।

गत महिना रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा सुख्खा पहिरो जाँदा दुई नेपालीको मृत्यु हुनाका साथै झन्डै एक दर्जन चिनियाँहरू घाइते भएका थिए।

‘सतर्कता खोइ?’

यस्ता घटनाहरू भइरहेको बेला भूगर्भविद्हरूले बेलैमा सतर्क भई धनजन र पुर्वाधारको क्षति रोक्न सरकारलाई सुझाएका हुन्। एकजना भूगर्भविद् सुवोध ढकाल भन्छन्, “सरकारले एउटा छुट्टै अनुसन्धान निकाय गठन गर्नुपर्छ। त्यसले पानी, भूकम्प, बाढीको उपशाखा खोलेर एकीकृत रूपमा अनुसन्धान अगाडि बढाए नेपाललाई निकै फलदायी हुनेछ। समस्याले निकासा पाउनेछ।”

खुकुलो माटो भएका र चट्टान भएका भिरालो स्थानहरूमा सुख्खा पहिरो बढी जानसक्ने बताइन्छ। भूकम्पपछि त्यस्ता चट्टानहरूमा छिद्र बनेको र चिरा पर्न गएकोले पनि पछिल्लो समय जोखिम बढेको विज्ञहरू बताउँछन्।

त्यस्ता स्थानहरू महाभारत पर्वत क्षेत्रको उत्तर तिरको भाग सुख्खा पहिरोको जोखिम रहेका स्थानहरू भएको भुगर्भविद् ढकालले बताए। गतवर्ष पनि साना ठूला गरी सयौँ स्थानमा सुख्खा पहिरो जाँदा झन्डै एक दर्जनको मृत्यु हुनाका साथै कैयौँ सवारीसाधनमा क्षति पुगेको गृह मन्त्रालयको तथ्यांक छ।

जसका कारण सडक, सिँचाइ कुलो र जलविद्युत गृहहरूमा असर परेको थियो। भूगर्भविद्हरूका अनुसार सरकारले सुख्खा पहिरोसम्बन्धी अझैसम्म कुनै अनुसन्धान नगरेकोले समस्याको पहिचान नै हुन सकेको छैन। त्यसकारण उनीहरू भन्छन् समाधानको उपाय पनि सरकारसँग छैन।

‘पूर्वतयारी’

तर सरकारी अधिकारीहरूले भने सुख्खा पहिरोसँग जुझ्न सरकारले यो वर्ष पूर्वतयारी थालिसकेको बताएका छन्। गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्दु घिमिरेले भनिन्, “विपद् व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको बैठकले बस्ती सार्नुपर्ने अवस्था हुन सक्छ वा अन्य के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गरेर सम्बन्धित निकायलाई काम गराउने निर्णय भएको छ।”

उनका अनुसार “जोखिमयुक्त स्थानमा बसेकालाई बस्ती स्थानान्तरण गर्ने विषयमा पनि काम भइरहेको छ र कतिपयको रिपोर्ट आइसकेको छ।” विकासका नाममा गाउँहरूमा अध्ययनविना सडक बनाउने गर्दा पनि यस्तो पहिरोको समस्या बढ्ने गरेको पाइएको छ। साभार:बीबीसी नेपाली

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर