Aamsanchar

समाजसेवी गुरुङको धानखेत विद्यालयलाई

Author Image
शुक्रवार, असोज ५, २०७५

पर्वत,

पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१आँै जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ ।

स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहनुभएका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमीनमा आयआर्जनका कार्यक्रम गरेर शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले लामो समय आफू गाउँमै बसेर समाजसेवामा लागेको र आफ्नै पहलमा स्थापना भएका विद्यालयलाई व्यक्तिगत जग्गा हस्तान्तरण गरेको बताउनुभयो ।

उक्त जग्गाको लालपुर्जा गुरुङले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा जग्गादाता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै दिर्घायुको कामना समेत गरिएको थियो । गुरुङ दम्पतिका चार छोरा छन् । उहाँहरू कोही वैदेशिक रोजगार त कोही बुटबलमा व्यवसायमा संलग्न रहनुभएको छ । गुरुङ केही समय गाउँमा त केही समय बुटबलमा बस्दै आउनुभएको छ ।

गुरुङले प्रदान गरेको जग्गाको मूल्य रु २५ लाख बराबरको छ । आफ्नो धानखेत, कोदोबारी र खरबारी जस्ता गाउँका महत्वपूर्ण जग्गा प्रदान गर्नुभएको मदनआश्रित माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका केही जग्गामा विद्यालयका लागि भौतिक पूर्वाधार बनाउने र बाँकी जग्गा भाडामा दिएर विद्यालयको लागि आयआर्जन गरिने बताउनुभयो । अहिले कक्षा १० सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजना रहेको छ । कक्षा १२ सम्म सञ्चालन भएपछि उक्त वडाका विद्यार्थी अध्ययन गर्नका लागि छिमेकी वडा नं ५ को लुङ्खुदेउराली जानुपर्ने बाध्यता हट्ने छ ।

जन्मदिनकै अवसरमा अर्जुनचौपारी गाउँपालिका वडा नं ५ आरुचौर स्याङजामा रहेको सर्वोदय माविमा रु ५३ हजारबराबरको कोष खडा गर्नुभएको छ । हरेक वर्ष साहित्यसम्बन्धी प्रतियोगिता गर्ने र उत्कृष्ट हुनेलाई सोही अक्षयकोषको रकमबाट पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको हो ।

Views: 209

प्रतिक्रिया (०)