Aamsanchar

नेपाली खेलाडीको आम्दानी कति ?/ खेलकुदबाटै मनग्य आम्दानी

Author Image
शनिवार, असोज ६, २०७५

दीपेन्द्र सापकोटा / काठमाडौं ।

खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पूर्वाधारको अभाव र सरकारी लगानीको कमीले खेलाडी मर्कामा परिरहेका छन् ।

ऊर्जाशील समय खेलकुदमा बिताएर जीवन धान्न विदेश पलायन हुने खेलाडीको संख्या पनि उत्तिकै छ । तर, पछिल्लो समय खेलेरै मनग्य आम्दानी गर्ने र व्यवस्थित जीवनशैली बनाउने खेलाडीको संख्या पनि बढ्दै छ । १८ वर्षको उमेरमै क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय लिग खेलेर नाम मात्रै कमाएका छैनन्, आकर्षक दाम पनि बटुलेका छन् ।

सन्दीपसँगै राष्ट्रियस्तरका धेरै क्रिकेटर र केही फुटबलरको एक लाख मासिक आम्दानी सामान्य बनेको छ । त्योभन्दा धेरै कमाउने पनि छन्, जसले खेलेरै व्यवस्थित जीवन जिइरहेका छन् ।

उदाउँदै युवा खेलाडी

अरू केही चर्चित खेलाडी जो कमाइमा दोस्रो ‘र्‍यांकिङ’मा छन् । फुटबलका अञ्जन विष्ट, अनन्त तामाङ क्लबबाट अरू सिनियर खेलाडीसरह तलब थाप्ने क्रममा छन् । त्यस्तै, त्रिभुवन आर्मी क्लबका भरत खवास सेनाका सेकेन्ड लेफ्टिनेन्ट छन् भने नवयुग श्रेष्ठ सुवेदार । उनीहरूको जीवन पनि फुटबलबाटै चलिरहेको छ ।

क्रिकेटका करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ सेखलगायत खेलाडीको कमाइ पनि नराम्रो छैन । ग्रेड ‘बी’को र्‍यांकिङमा रहेका उनीहरू सिनियर खेलाडीहरूलाई पछ्याइरहेका छन् । राष्ट्रिय टिमबाट २५ हजारमाथि तलब खाने उनीहरूको आम्दानी समग्रमा ८० हजारसम्म छ ।

राज्यबाटै उपेक्षित धेरै खेल
फुटबल र क्रिकेटबाहेक अन्य खेलहरूका भने त्यति व्यावसायिक हुन सकिरहेका छैनन् । भलिबल, कराते, तेक्वान्दोे, बक्सिङ, उसु, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेलका खेलाडीको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक खेलबाटै आम्दानीको अरू स्रोत छैन ।

यद्यपि, यी विधाका केही खेलाडी भने राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक र बाहिर अन्यत्र जागिरे पनि छन् । जसले उनीहरूलाई दैनिकी चलाउन सहज भएको छ । नेपाललाई अन्तर्राष्ट्रिय मैदानमा धेरै पदक जिताउने कराते, तेक्वान्दो, बक्सिङ, उसुलगायतका खेलाडीहरू राज्यले बेवास्ता गरेको गुनासो गर्छन् ।

रोहित चन्द, फुटबलर
मासिक : ५ लाख
राष्ट्रिय टिमका रोहित चन्द सबैभन्दा धेरै कमाउने नेपाली फुटबलरमध्ये पर्छन् । डिफेन्डरका रूपमा उदाएका रोहित पछिल्लो समय मिडफिल्डरका रूपमा पनि न्याय दिन सक्ने भएका छन् । २६ वर्षीय रोहित अहिले इन्डोनेसियाको लिगा–वान क्लब पर्सिया जकार्ताबाट व्यवसायिक फुटबल खेल्छन् ।

उनले उक्त क्लबबाट मासिक चार लाखसम्म तलब थाप्ने स्रोत बताउँछ । यसबाहेक राष्ट्रिय टिमको तलब, बोनस, विज्ञापन, ब्रान्ड प्रमोटलगायत कमाइ जोड्दा रोहितले मासिक पाँच लाखसम्म कमाउँछन् ।

किरण चेम्जोङ, फुटबलर
मासिक : ३ लाख
किरण चेम्जोङ राष्ट्रिय टिमका नम्बर १ गोलकिपर हुन् । मछिन्द्र क्लबबाट करिअर सुरु गरेका किरणले पछि थ्रिस्टार, मनाङ मस्र्याङ्दीजस्ता ठूला क्लबबाट पनि खेले । २८ वर्षका उनले माल्दिभ्सको चर्चित सिटी स्पोर्टस् क्लबबाट पनि फुटबल खेलिसकेका छन् । उनी आवद्ध उक्त क्लबले गत वर्ष बंगलादेशमा भएको सेख कमल अन्तर्राष्ट्रिय कप जितेको थियो ।

उनले खेलेको भारतीय आइलिग क्लब मिनेर्बा पन्जाबले यसै वर्ष आइलिग पनि जित्यो । यो सिजन पुनः माल्दिभ्सको क्लब सिटी स्पोर्टस्मा आवद्ध भएका छन् । किरणले आफ्नो कमाइ खुलाउन नचाहे पनि उनले तलब र बोनस गरी मासिक तीन लाखसम्म कमाउने स्रोत बताउँछ । पछिल्लो समय उनी कुनै ब्रान्ड वा विज्ञापनमा भने आवद्ध छैनन् । ‘विज्ञापन त गर्छु, त सोसल वर्कका लागि मात्र,’ किरण भन्छन् ।

विमल घर्तीमगर, फुटबलर
मासिक : १ लाख
१५ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका विमल घर्तीमगर नियमित स्ट्राइकर हुन् । सुदूरपश्चिम एफसीबाट सन् २०१५ मा करिअर सुरु गरेका उनले पुलिस र थ्रिस्टारबाट पनि खेले ।

भारतीय क्लब मोहन बगानबाट यसै वर्ष आइलिग पनि खेले । विमलले जगदम्बा मोटर्स, बुस्टलगायतको विज्ञापन पनि खेलेका छन् । मासिक ७० देखि ९० हजारसम्म तलब थाप्छन् । क्लब र राष्ट्रिय टिमको तलब तथा अन्य कमाइ गरी उनको मासिक आम्दानी एक लाख बढी पुग्छ ।

विराज महर्जन, फुटबलर
मासिक : १ लाख
राष्ट्रिय टिमका कप्तान विराज महर्जनले भर्खरै बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान राखे । उनले लिजेन्ड राजुकाजी शाक्यको ६८ क्यापको कीर्तिमान तोडे । थ्रिस्टार क्लबबाट पनि खेलेका विराज अहिले मनाङबाट खेल्छन् । क्लबबाट ९५ हजारसम्म बुझ्ने उनको सबै कमाइ जोड्दा एक लाख नाघ्छ ।

विक्रम लामा, फुटबलर
मासिक : १ लाख
थ्रिस्टारका कप्तान विक्रम लामा राष्ट्रिय टिमका भरपर्दा डिफेन्सिप मिडफिल्डर हुन् ।थ्री स्टारका सिनियर खेलाडीले ६० देखि ८० हजारसम्म तलब बुझ्ने उनी बताउँछन् । आफ्नो तलब खुलाउन नचाहेका उनले भने, ‘नेपालमा राम्रा खेलाडीले क्लबबाट महिनाको ७० देखि ९५ हजारसम्म स्यालरी खान्छन् ।’

क्लब, राष्ट्रिय टिम र अन्य गरेर उनको कमाइ कम्तीमा पनि एक लाख पुग्ने निकटस्थहरू बताउँछन् । ‘ब्रान्ड प्रमोट र वर्षको एउटा मात्र विज्ञापन गरे मासिक दुईदेखि अढाई लाखसम्म पनि कमाइ हुन्छ,’ उनले सुनाए ।

सन्दीप लामिछानेले 
६ महिनामै कमाए करोड
अन्तर्राष्ट्रियस्तरमै चम्किएका सन्दीप लामिछानेले विभिन्न देशमा लिग खेलेरै झन्डै ६ महिनाको अवधिमा करोडभन्दा धेरै आम्दानी गरेका छन् । आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा एकै महिनामा २० लाख भारु अर्थात् ३२ लाख रुपैयाँ कमाए । आइपिएलपछि क्यारेबियन प्रिमियर लिग (सिपिएल)को एक क्लबमा ५ हजार डलर (झन्डै पाँच लाख ७५ हजार रुपैयाँ) मा आबद्ध भए ।

तर, आधा लिग मात्र खेलेर फर्किएकाले सम्झौताको आधा रकम मात्रै पाएका उनी निकट व्यक्तिहरू बताउँछन् । त्यस्तै क्यानेडियन लिगमा ४० हजार डलर (झन्डै ४६ लाख ४० हजार रुपैयाँ ) मा आवद्ध भए । आसन्न अफगान लिगका लागि उनी १५ हजार डलर (१७ लाख ४० हजार रुपैयाँ) मा आवद्ध भएका छन् । यो सबै जोड्दा उनको कमाई करोडमाथि पुग्छ । उनले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन ।

नेपालमा उनी जेभियर इन्टरनेसनल कलेज, सानिमा बैंकसँगै दुई–तीन वटा कम्पनीको ब्रान्ड एम्बेसेडर छन् । सानिमाले दुई वर्षका लागि ९ लाख ६० हजार रुपैयाँमा सम्झौता गरेको छ । टाटा मोटर्सले २५ लाखको गाडी पुरस्कार दिएको छ । राष्ट्रिय टिमबाट मासिक बोनससहित ३५ हजारभन्दा बढी तलब थाप्छन् ।

सुजल श्रेष्ठ, फुटबलर
मासिक : १ लाख
सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध निर्णायक एक मात्र गोल गरेका सुजल श्रेष्ठ रातारात चर्चित भए । त्यसयता उनको उपस्थिति राष्ट्रिय टिममा प्रायः रहँदै आएको छ । २५ वर्षीय सुजल सन् २०११ देखि मनाङ मस्याङ्दी क्लबमा आवद्ध छन् ।

त्यसो त उनी सन् २०१५ मा भुटानी क्लब भुटान क्लियरिङ एफसीमा गएका थिए । लोनमा गएका उनी पुनः मनाङमै फर्किए । उनी क्लबबाट ७० देखि ९० हजारसम्म तलब थाप्ने बताउँछन् । स्टिलर एजुकेसनको ब्रान्ड एम्बेसेडर उनले मासिक ४०–५० हजार लिने गरेका छन् । विज्ञापन खेल्दा एउटाको ५० हजार कमाइ हुने उनको भनाइ छ । उनी भन्छन्, ‘सबै गरेर महिनामा कम्तीमा पनि एक लाख कमाइ हुन्छ । कुनै वेला त अझ बढी भइहाल्छ ।’

पारस खड्का, क्रिकेटर
मासिक : डेढ लाख
सन्दीपपछि धेरै कमाइ गर्ने क्रिकेटर हुन्, कप्तान पारस खड्का । उनी पनि धेरै कम्पनीसँग आवद्ध छन् । एक्पर्ट, कन्सल्टेन्सी, श्री एयरलाइन्स्लगायत करिब आधा दर्जन बढी कम्पनीका ब्रान्ड एम्बेस्सेडर छन् । पारस केही विज्ञापनहरूमा पनि देखिने गरेका छन् । त्यस्तै, उनी एपिएफसँग करारमा आवद्ध छन् ।

एभरेस्ट प्रिमियर लिग (इपिएल)मा उनी विराटनगर वारियर्समा कप्तानको जिम्मेवारीमा आवद्ध भए । साथै, धनगढी प्रिमियर लिग (डिपिएल)मा उनी विराटनगर किंग्सका कप्तान थिए । यी दुवै प्रतियोगितामा पारसले अन्य टोलीका कप्तानको भन्दा बढी स्यालरी पाएका निकटस्थहरू बताउँछन् । राष्ट्रिय टिम र अन्य शीर्षकको कमाइबाट उनले महिनामा डेढ लाखसम्म थाप्छन् । तर, कुनै समय महिनामै १० लाखसम्म पनि कमाउँछन् । राष्ट्रिय टिमबाट ३५ हजार र बोनस बुझ्छन् ।

शरद भेसावकर, क्रिकेटर 
मासिक : १ लाख
शरद भेसावकर राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान हुन् । सन् २०१४ मा नेपाल टी–२० विश्वकपमा छनोट हुनमा उनको ब्याटिङको ठूलो हात छ । शरदले इपिएल लिग भैरहवा ग्लाडिएटर्सबाट खेले । उनी क्लबका कप्तानसमेत थिए । केही वर्षअघि दुईवटा विज्ञापन खेलेका उनी अहिले पनि एनबी बैंकसँग आवद्ध छन्, ब्रान्ड एम्बेसेडरका रूपमा । शरद पनि मासिक एक लाख जति कमाइ गर्छन् । राष्ट्रिय टिमबाट ३५ हजार तलब र बोनस बुझ्छन् । ‘क्रिकेटको कमाइले जिन्दगी चलाउनचाहिँ पुगेकै छ,’ शरद भन्छन् ।

ज्ञानेन्द्र मल्ल, क्रिकेटर
मासिक : १ लाख
राष्ट्रिय क्रिकेट टोलीका उपकतान ज्ञानेन्द्र मल्ल इपिएलमा ललितपुर प्याट्रिअट्स तथा डिपिएलमा काठमाडौं गोल्डेन्सका कप्तान थिए । यी दुवै लिग हुँदा उनले राम्रै कमाइ गरेका थिए । अहिले उनी सिटिजन बैंक र इसेवाका ब्रान्ड एम्बेस्डर छन् । यहाँबाट महिनावारी तलब बुझ्छन् । केही समयअघि ज्ञानेन्द्रले केही विज्ञापन पनि खेलेका थिए । राष्ट्रिय टिमको ३५ हजार तलब र बोनस तथा अन्य कमाइ गरेर ज्ञानेन्द्रले मासिक एक लाखसम्म आम्दानी गर्छन् ।

वसन्त रेग्मी, क्रिकेटर
मासिक : १ लाख
वसन्त रेग्मी नेपाली टिममा ‘क्राइसेस म्यान’का रूपमा परिचित छन् । वसन्त खासमा स्पिनर हुन्, तर उनी टिमलाई अप्ठ्यारो परेका वेला बिस्फोटक ब्याटिङ पनि गर्छन् । (इपिएल)मा उनी विराटनगर वारियर्स र डिपिएलमा विराटनगर किंग्समा आवद्ध थिए । नेपालकै महँगा बलरमा पर्ने वसन्तको कमाइ मासिक एक लाखसम्म हुन्छ । उनले राष्ट्रिय टिमबाट नियमित बुझ्ने तलब र बोनसबाहेक एनबी बैंक र ग्यालेक्सी पेन्ट्सको ब्रान्ड एम्बेसेडरका रूपमा पनि तलब थाप्छन् । उनी भन्छन्, ‘अब क्रिकेट बोर्ड गठन भयो र क्रिकेटले स्थिरता पायो भने राष्ट्रिय टिमबाटै लाखभन्दा बढी स्यालरी पाउने अपेक्षा छ ।’

सोमपाल कामी, क्रिकेटर
मासिक : १ लाख
१७–१८ वर्षको उमेरमै राष्ट्रिय टिममा परेका खेलाडी हुन्, सोमपाल कामी । फास्ट बलरका रूपमा उदाएका उनी अहिले ब्याटिङ पनि राम्रो गर्छन् । २२ वर्षीय सोमपाल इपिएलमा काठमाडौं किंग्स –११ तथा डिपिएलमा टिम चौराहा धनगढीका कप्तान रहेर खेले ।

सोमपालले पनि केही विज्ञापन खेलेका छन् । त्यस्तै, उनी विभिन्न कम्पनीसँगसमेत आवद्ध छन् । लुम्बिनी कलेजको ब्रान्ड एम्बेसेडर हुन् । क्लब, राष्ट्रिय टिम (३५ हजार प्लस बोनस) र अन्य गरी उनले पनि महिनामा कम्तीमा पनि एक लाख रुपैयाँ आम्दानी गर्ने निकटस्थ खेलाडीहरू बताउँछन् ।-नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर