शान्तिनगर ।
स्यालडाँगी युथ क्लब बिर्तामोडले झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी धारागोला भ्यूटावर गोल कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा आदर्श युवा क्लबलाई सडेन डेथमा ७÷६ गोल अन्तरले पराजित गर्दे स्यालडाँगीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । खेल अवधिभरमा दुबै टोलीले गोल गर्ने सुनौलो अवसर पाएपनि गोल हुन भने सकेन् । खेल बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि खेल सडेन डेथ तर्फ धकेलिएको हो । सडेन डेथमा स्यालडाँगी युथ क्लबले बाजि मारेको हो ।
असोज ३ गते देखि १८ गतेसम्म प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ । पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।
शनिबारको खेलमा गोधुली युथ क्लब धाईजन र कुटिडाँडाबिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिब शष्ट कुमारले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ ।