Aamsanchar

डेंगु महामारीको उच्च जोखिममा दमक

Author Image
बुधवार, असोज १०, २०७५

बिष्णुप्रसाद पोखरेल / दमक ।

डेंगु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु भएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग भएकाले यसले छिटो महामारीको रुप लिन सक्छ ।

डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले यसको श्रोत नै नष्ट गर्नु सबैभन्दा उपयुक्त हुने भएकाले यो अभियान शुरु गरिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनु भयो ।

यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने भएकाले बजार क्षेत्रमा आफुहरुले श्रोतको अनुगमन गरेर त्यसलाइ नष्ट गर्ने अभियानमा लागेको पनि अर्यालको भनाइ रहेको छ ।

अर्यालका अनुसार यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकीहरुमा यसले फुल पार्दछ ।

सहरी क्षेत्रमा यस्ता वस्तुहरू धेरै हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको उहाँले जनाउनु भयो । यो सहरमा बढि समस्या पाइने भएकाले सहर केन्द्रित कार्यक्रम गरेका छौ, अर्यालले भन्नुभयो ।

वडा नं। ५ का वडाध्यक्ष इन्द्र गुरुङ, वडा नं। ८ का वडाध्यक्ष पशुपतिराज गौतम, नगरपालिकाका प्रशासन शाखा प्रमुख मोहन ओली, स्वास्थ्य स्वयंसेविकाहरु सहितको टोलीले जमेको पानी भएको ठाँउको अनुगमन गरेर नष्ट गर्न निर्देशन दिनु भएको थियो ।

सबैभन्दा बढि मोटर ग्यारेजमा रहेका थोत्रा टायरहरुमा समस्या पाईएको वडाध्यक्ष गुरुङले बताउनु भयो । हामीले थोत्रा टायर तत्काल पानी नपर्ने ठाँउमा राख्नका लागि र पानी जमेको भए नष्ट गर्न निर्देशन दिएका छौ, गुरुङले भन्नुभयो ।

स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइका अनुसार डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमणको रुपमा लिइन्छ ।

यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसोमात्र टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारको हुने दमक स्थित लाइफलाइन अस्पतालका सञ्चालक डा। सुर्यनारायण शाहले बताउनु भयो ।

उहाँका अनुसार क्लासिक डेंगु हुन्छ र यो आफंै निको हुने भएकाले मृत्युको सम्भावना कम हुन्छ, तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

आम्दा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. नबिन ढकालका अनुसार स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीने भएकाले लक्षण देखिन साथ अस्पताल आउनु बुद्धिमानी हुन्छ ।

डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हा, डा। ढकालले भन्नुभयो । उहाँका अनुसार डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

दमकमा दुइ बर्षअघि डेंगुले महामारीको रुप लिएको थियो । सरकारी दमक अस्पतालमा त्यो समयदेखि अहिलेसम्म पनी डेंगु रोग जाँच तथा उपचारका लागि केन्द्र तोकिएको छ ।

निशुल्क रुपमा किटको माध्यमबाट अस्पतालमा डेंगु परीक्षणको ब्यवस्था मिलाईएको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर